बैंक तथा वित्तीय संस्थाले गत साउनदेखि मंसिरसम्म २ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निक्षेप बढेको हो भने कर्जा प्रवाह घटेको हो । गत आर्थिक वर्षको साउनदेखि २४ मंसिरसम्म निक्षेप १ खर्ब ४६ अर्ब र कर्जा प्रवाह १ खर्ब ५४ अर्बले बढेको थियो ।
चालु वर्ष विस्तारकारी बजेट र मौद्रिक नीति आएकाले कर्जा प्रवाह बढ्ने र बैंकहरूमा थुप्रिएको ऋणयोग्य रकम घट्ने अपेक्षा थियो । सुरुका महिनामा कर्जा माग बढ्ने संकेत देखिन थालेका थिए । तर पाँच महिनाको कर्जा प्रवाहको तथ्यांकले राष्ट्र बैंकको उद्देश्य भेटाउन सक्ने कुनै सम्भावना छैन । कर्जा प्रवाह नभएकै कारण बैंक तथा वित्तीय संस्थामा लगातार १० खर्बभन्दा बढी ऋणयोग्य रकम (अधिक तरलता) थुप्रिएको छ ।
ब्याजदर घटेर इतिहासकै न्यून विन्दुमा ओर्लेको छ । अर्थतन्त्रको सामान्य सिद्धान्तअनुसार ब्याजदर कर्जा प्रवाहबीच उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा ऋण बढ्ने र बढ्दा घट्ने हो । अहिले यो सिद्धान्तले काम गरेको देखिँदैन । अहिले ब्याजदर घटे पनि अन्य प्रभावित तत्त्वहरू सक्रिय रहेकाले कर्जा माग बढ्न नसकेको जानकार बताउँछन् ।
राजनीतिक अस्थिरतासँगै सुरक्षामा प्रश्न उठेकाले उद्योगी व्यवसायीले थप लगानी गर्न नसकेको नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनमा निक्षेप ६३ अर्ब र कर्जा १७ अर्बले घटेको थियो । भदौमा निक्षेप ९० अर्बले थपिँदा ५३ अर्ब कर्जा विस्तार भयो । असोजमा १ खर्ब ८३ अर्ब निक्षेप थपियो । उक्त महिनामा कर्जा प्रवाह ४६ अर्ब थियो । कात्तिकमा निक्षेप ३ अर्ब र कर्जा २९ अर्बले घट्यो । २३ मंसिरसम्म निक्षेप २५ अर्बले बढ्दा कर्जा २२ अर्बले वृद्धि भयो ।
पाँच कारणले मुलुकमा लगानी वातावरण बिग्रेको र कर्जा माग घटेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल बताउँछन् । पहिलो, गएको पाँच वर्षमा डेढ लाखभन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । यसले निजी क्षेत्रले पुँजी निर्माण गर्न सकेन । दोस्रो, कर्जा असुलीका लागि भन्दै बैंक तथा वित्तीय संस्थाले धमाधम धितो बिक्री गर्न थाले ।
गत आर्थिक वर्षमा राष्ट्र बैंकले साढे १२ प्रतिशतले कर्जा विस्तार गर्ने लक्ष्य तय गरेको छ । यो लक्ष्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा विस्तार गर्नुपर्थ्यो । तर गत असारसम्म बैंकहरूले प्रवाह गरेको कर्जा लक्ष्यभन्दा २ खर्ब ५१ अर्ब रुपैयाँले कम थियो । चालु आर्थिक वर्ष राष्ट्र बैंकले १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य तय गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको राष्ट्र बैंकले गत वर्षका लागि साढे १२ प्रतिशतको लक्ष्य तोकेको थियो । अघिल्ला वर्षहरूमा कर्जा विस्तारको लक्ष्य पूरा नहुँदानहुँदै पनि यस वर्ष फेरि १२ प्रतिशतको लक्ष्य तय गरिएको छ । तर २३ मंसिरसम्म करिब ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ ।
मुलुकको पछिल्लो घटनाक्रमले लगानी वातावरण बन्न नसकेको वित्तीय क्षेत्रको जानकार परशुराम कुँवर क्षेत्रीले बताए ।


