नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिएका छन् । विभिन्न ७ बुँदे माग राख्दै आज पौष एक गते मंगलबारदेखि कर्मचारीहरू हडतालमा उत्रिएका हुन् ।
नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले प्राधिकरणका अध्यक्ष समक्ष विभिन्न माग राख्दै आएका थिए । उनीहरुले पटक-पटक लिखित तथा मौखिकरुमा माग राख्दै आएका थिए ।
तर, प्राधिकरणको सञ्चालक समितिका अध्यक्षले आफ्नो मागहरुबारे बेवास्ता गरेपछि उनीहरू हड्तालमा उत्रिन बाध्य भएको युनियनका अध्यक्ष प्रेमहरी पोखरेलले जानकारी दिए । आज मंगलबार युनियनका अध्यक्ष पोखरेल र संगठनका अध्यक्ष दिपक ज्ञवालीले अध्यक्षलाई एक पत्र लेख्दै आन्दोलनमा उत्रिएको जानकारी औपचारिक रुपमा दिएका हुन् ।
अबको ४ दिनसम्म कालोपट्टि बाँधेर काम गर्ने उनीहरुको योजना रहेको छ । त्यसपछि कार्यालय प्राङ्ग्रणमै विरोधको कालो ब्यानर टाँस्ने र सो समयसम्मको उपलब्धिलाई समीक्षा गरि आगामी योजना तर्जुमा गर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।
उनीहरुले यस अघि मंसिर १ गते एक पत्र लेख्दै मागहरुबारे अध्यक्षलाई जानकारी गराएका थिए । त्यसपछि २१ दिनको समय दिएका थिए । मंसिर २१ गतेसम्म कुनै सुनुवाइको पहल नभएपछि ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिन सकिँदासम्म पनि अध्यक्षले कुनै पहल नगरेको उनीहरुको गुनासो रहेको छ ।


