समान विचारधारा भएका दुई राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीच पार्टी एकीकरण भएको छ। बुधबार राजधानीमा आयोजित विशेष कार्यक्रममा दुवै पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर गर्दै औपचारिक रूपमा एकता घोषणा गरिएको हो ।
समझदारीपत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरेका छन्। एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नै कायम रहने सहमति भएको छ।
समझदारीअनुसार एकीकृत पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन नै रहनेछन्। पार्टीको विधान, झण्डा तथा चुनाव चिन्ह साविककै राप्रपाको ‘हलो’ कायम रहनेछ। एकीकरणपछि राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट पारित ‘सम्बर्धनवाद’ नै पार्टीको वैचारिक दर्शन रहने सहमति भएको छ।
यसअन्तर्गत सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र तथा असंलग्न परराष्ट्र नीतिलाई मार्गदर्शक सिद्धान्त मानिनेछ।
दुई पार्टीबीच संगठन समायोजनका विषयमा पनि सहमति भएको छ। राप्रपाको २०७८ को महाधिवेशनबाट निर्वाचित भई हाल राप्रपा नेपालमा रहेका केन्द्रीय सदस्यहरूलाई एकीकृत पार्टीमा सोही पदमा कायम गरिनेछ। राप्रपा नेपालका अन्य पदाधिकारी तथा सदस्यहरूलाई सहमतिका आधारमा केन्द्रीय कार्यसमितिमा समावेश गरिने उल्लेख छ।
त्यसैगरी जिल्ला तथा स्थानीय तह (वडा, गाउँ, नगर) मा २०७८ को महाधिवेशनको समयमा कायम रहेका संरचनालाई आधार मानी सम्मानजनक ढंगले संगठन समायोजन गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ।
राप्रपा नेपालका जनवर्गीय तथा भातृ संगठनका पदाधिकारी र सदस्यहरूलाई पनि राप्रपाका सम्बन्धित संगठनहरूमा सम्मानजनक रूपमा समायोजन गरिने सहमति भएको छ।
यद्यपि, एकीकृत पार्टीमा कमल थापाको भावी भूमिका भने सहमतिपत्रमा खुलाइएको छैन।


