पछिल्लो १० वर्षको अवधिमा नेपालले १५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको चकलेट आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार, यो अवधिमा सबैभन्दा बढी चकलेट छिमेकी मुलुक भारतबाट आयात भएको देखिन्छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो पाँच महिना (मंसिरसम्म) मा मात्रै ८० करोड २ लाख रुपैयाँ बराबरको चकलेट नेपाल भित्रिएको छ । यसमध्ये ५३ करोड ६९ लाख ५४ हजार रुपैयाँको चकलेट भारतबाट आयात भएको छ, जुन कुल आयातको आधाभन्दा बढी हो ।
भारतपछि चीन दोस्रो ठूलो चकलेट आपूर्तिकर्ता मुलुक बनेको छ । पाँच महिनाको अवधिमा चीनबाट ७ करोड ३३ लाख रुपैयाँ बराबरको चकलेट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । त्यस्तै, नेदरल्याण्डबाट ४ करोड ८४ लाख रुपैयाँ, टर्कीबाट ३ करोड ८१ लाख रुपैयाँ बराबरको चकलेट आयात भएको छ । मात्रा (तौल)का आधारमा हेर्दा चीनबाट ९५ हजार ७९ केजी, नेदरल्याण्डबाट २६ हजार १९७ केजी र बंगलादेशबाट १९ हजार ४५२ केजी चकलेट नेपाल भित्रिएको छ ।
नेपालमा हाल विश्वका ५० भन्दा बढी मुलुकबाट चकलेट आयात हुँदै आएको छ । भारत र चीनबाहेक स्वीट्जरल्याण्ड, बेलायत, थाइल्याण्ड, मलेसिया, अस्ट्रेलिया, हङकङ, दुबईलगायतका मुलुकबाट पनि विभिन्न ब्रान्डका चकलेट आयात हुने गरेका छन् । उपभोगमुखी प्रवृत्ति र आयातमा निर्भर बजार संरचनाका कारण कम आवश्यक मानिने वस्तुमा समेत ठूलो रकम बाहिरिनु अर्थतन्त्रका लागि चुनौती बनेको छ ।
चकलेट आयातको दीर्घकालीन तथ्यांकले पनि बढ्दो आयात प्रवृत्ति देखाउँछ । विभागका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँको चकलेट आयात भएको थियो । यो रकम आर्थिक वर्ष २०८१÷८२ मा बढेर २ अर्ब ३७ करोड १४ लाख रुपैयाँ पुगेको छ । केही वर्ष आयात घटेको देखिए पनि समग्रमा चकलेट आयातको ग्राफ उकालो लाग्दो क्रममा छ ।
नेपालमा चकलेट उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा रहे पनि मागअनुसार स्वदेशी उत्पादन विस्तार हुन नसक्दा आयातमा निर्भरता घट्न सकेको छैन । विज्ञहरूका अनुसार, आयात निरुत्साहित गर्ने सरकारी नीति व्यवहारमा प्रभावकारी नहुँदा नखाँदा पनि हुने वस्तुमा अर्बौं रुपैयाँ विदेशिएको छ ।


