Banijya News

नेपाल लाइफको २१.०५ प्रतिशत लाभांश पारित

1
1.1K Shares

नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा होटल भिष्वा, बीरगंजमा संचालक समिति अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न भएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नगद प्रवाह र नाफा–नोक्सान छलफल गरी स्वीकृत गरिएको छ। सो वर्षको वितरण योग्य मुनाफाबाट १६.०५% नगद लाभांश र ५% बोनस शेयर शेयरधनीलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ।

साधारण सभाले संस्थापक समूहका गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ। त्यसपछि संचालक समितिको बैठकले गोविन्द लाल संघईलाई अध्यक्षको रुपमा चयन गरेको छ।

अध्यक्ष संघईले कम्पनीलाई संरचनात्मक सुधार, नविन प्रविधिको प्रयोग, ग्राहक केन्द्रित सेवा, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र दीर्घकालिन रणनीतिका माध्यमबाट अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आर्थिक वर्ष २०८१/८२ का चुनौतीहरूलाई अवसरमा परिणत गरी प्राप्त उपलब्धी र भावी योजनाहरू प्रस्तुत गरे।

कम्पनीको असोज मसान्तसम्मको लगानी २ खर्ब ५४ अर्ब, जीवन बीमाकोष २ खर्ब ४५ अर्ब, शेयरधनी कोष १३ अर्ब पुगेको छ। हाल १९७ कार्यालय मार्फत सेवाग्राहीलाई सेवा उपलब्ध गराइरहेको कम्पनीले अहिलेसम्म ३ खर्ब २६ अर्ब बीमाशुल्क आर्जन र १ खर्ब ३ अर्ब दावी भुक्तानी गरेको छ।

नेपाल लाइफले शेयरधनी र ग्राहकको हितलाई ध्यानमा राख्दै सेवा र सुविधाहरू विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

1

Scroll to Top