Banijya News

लेभोफ्लक्स ५०० लाई बजारबाट किन पठाईयो फिर्ता ?

1
1.2K Shares

राष्ट्रिय औषधी प्रयोगशालामा गरिएको परीक्षणमा गुणस्तरहीन प्रमाणित भएपछि तेस्रो पुस्ताको एन्टिबायोटिक औषधी लेभोफ्लक्स ५०० ट्याबलेटलाई बजारबाट फिर्ता पठाइएको छ । औषधी व्यवस्था विभागले परीक्षण नतिजाका आधारमा तत्काल बजारबाट औषधी फिर्ता लिन निर्देशन दिएको हो ।

विभागका अनुसार बारामा रहेको म्याग्नेस फर्मा कम्पनीले उत्पादन गरेको बीबी–२४००१ ब्याचको लेभोफ्लक्स ५०० ट्याबलेट नमुना परीक्षण गर्दा तोकिएको मापदण्ड पूरा नगरेको पाइएको छ । यही कारण उक्त ब्याचका सबै औषधी बजारबाट फिर्ता मगाइएको विभागले जनाएको छ ।

लेभोफ्लक्स ५०० ब्रोंकाइटिस, निमोनिया, छालाको संक्रमण तथा मुत्रनलीको संक्रमणजस्ता गम्भीर ब्याक्टेरियल रोगको उपचारमा प्रयोग हुने महत्वपूर्ण एन्टिबायोटिक हो । यस्ता संवेदनशील रोगमा प्रयोग हुने औषधी नै गुणस्तरहीन भेटिनु गम्भीर विषय भएको सरोकारवालाहरूको भनाइ छ ।

विभागका अनुसार औषधीको नमुना २०२५ फेब्रुअरीमै संकलन गरिएको भए पनि गुणस्तर परीक्षणको नतिजा आउन झण्डै एक वर्ष लागेको छ । २०२६ जनवरीमा मात्रै औषधी गुणस्तरहीन भएको पुष्टि भएपछि फिर्ता लिन निर्देशन जारी गरिएको हो । ढिलाइका कारण बजारमा रहेका धेरै औषधी यसअघि नै बिक्री वा प्रयोग भइसकेको हुन सक्ने अनुमान गरिएको छ ।

औषधी व्यवस्था विभागले जनशक्ति अभावका कारण परीक्षण तथा अनुगमन कार्य समयमा सम्पन्न गर्न नसकिएको स्वीकार गरेको छ । हाल बजारमा उक्त औषधी कति परिमाणमा बाँकी छ भन्ने यकिन गर्न विभागका औषधी निरीक्षकले देशभरका करिब २ हजार ५ सय फार्मेसीमा अनुगमन गरिरहेको जनाएको छ ।

विभागले गुणस्तरहीन औषधी तुरुन्त फिर्ता लिन र भविष्यमा गुणस्तर सुनिश्चित गरेर मात्र उत्पादन गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

1

Scroll to Top