Banijya News

१२ कम्पनीले आईपीओ निष्कासनको अनुमति पाउँदा ८५ वटा पाइपलाइनमा

1
1.1K Shares

नेपालको पुँजी बजारमा लामो समयदेखि देखिएको नियामक अन्यौलता क्रमशः घट्दै जाँदा प्राथमिक सेयर बजार फेरि चलायमान बन्न थालेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १२ वटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिँदा अझै ८५ वटा कम्पनी स्वीकृतिको पर्खाइमा पाइपलाइनमा रहेका छन्।

विगत केही वर्षसम्म नेतृत्व अभाव र नीतिगत अस्पष्टताका कारण सुस्त बनेको सेबोनले नयाँ नेतृत्व पाएपछि निष्कासन प्रक्रिया तीव्र बनाएको देखिएको हो। पुस २०८० देखि अध्यक्षविहीन बनेको बोर्डले मंसिर २०८१ मा सन्तोषनारायण श्रेष्ठलाई अध्यक्षका रूपमा पाएपछि रोकिएका फाइलहरू क्रमशः अघि बढ्न थालेका छन्।

बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को पुस २० गतेसम्म १२ वटा कम्पनीलाई सेयर निष्कासनको अनुमति दिइएको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेख्य सुधार हो। आर्थिक वर्ष २०८०/८१ मा जम्मा ९ वटा र २०८१/८२ मा १५ वटा कम्पनीले मात्र आईपीओ स्वीकृति पाएका थिए।

हालसम्म स्वीकृति पाएका कम्पनीहरूले कुल २५ अर्ब ३४ करोड २४ लाख रुपैयाँ बराबरको २५ करोड ३४ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाइसकेका छन्। अनुमति पाउने कम्पनीहरूमा जलविद्युत, उत्पादन तथा प्रशोधन, विकास बैंक, होटल तथा पर्यटनलगायत क्षेत्र समेटिएका छन्। यसले प्राथमिक बजारमा क्षेत्रगत विविधता बढ्दै गएको संकेत गर्दछ।

उत्पादन तथा प्रशोधन क्षेत्रको सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गरी दोस्रो बजारमा कारोबारसमेत सुरु गरिसकेको छ भने श्रीनगर एग्रिटेक इन्डस्ट्रिज पनि सेयर कारोबारमा प्रवेश गरिसकेको छ। यस्तै एसवाइ प्यानल नेपाल, सोलु हाइड्रोपावर, सालपा विकास बैंक, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टलगायत कम्पनीहरूले पनि क्रमशः सेयर निष्कासन प्रक्रिया अघि बढाइरहेका छन्।

आईपीओसँगै थप सार्वजनिक निष्कासन (एफपीओ) र हाइब्रिड प्रकृतिका वित्तीय उपकरणहरूको प्रयोग पनि बढ्दै गएको छ। विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनको अनुमति पाएको छ भने नबिल बैंक, कामना सेवा विकास बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकले अविमोच्य असंचिति अग्राधिकार सेयर (पीएनसीपीएस) निष्कासनका लागि स्वीकृति पाएका छन्।

यद्यपि, बोर्डको सक्रियताबीच पनि ठूलो संख्यामा कम्पनीहरू अझै पाइपलाइनमै छन्। पुस २४ गतेसम्मको विवरणअनुसार ८५ वटा कम्पनी ५५ अर्ब ६ करोड रुपैयाँ बराबरको ३८ करोड ५७ लाख कित्ता सेयर निष्कासन स्वीकृतिको पर्खाइमा रहेका छन्। पाइपलाइनमा सबैभन्दा बढी ३७ वटा जलविद्युत कम्पनी रहेका छन् भने उत्पादन तथा प्रशोधन २२, होटल तथा पर्यटन ९, लगानी ४, लघुबीमा ३ र अन्य क्षेत्रका ११ कम्पनी रहेका छन्।

1

Scroll to Top