Banijya News

इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउने तयारीमा निगम

1
1.2K Shares

मन्त्रिपरिषद्बाट पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश स्वीकृत भएसँगै नेपाल आयल निगमले इथानोल मिश्रित पेट्रोल कार्यान्वयनको तयारी अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने आदेश, २०८२’ स्वीकृत गरेपछि निगमले यसको व्यावहारिक कार्यान्वयन प्रक्रिया सुरु गर्न लागेको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले पेट्रोलमा इथानोल प्रयोग गर्ने विषय २०६० सालदेखि नै छलफलमा रहे पनि लामो समयसम्म कार्यान्वयनमा आउन नसकेको बताए । उनका अनुसार हाल आदेश स्वीकृत भएसँगै अब इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउने दिशामा निगम अघि बढ्नेछ । सुरुमा पेट्रोलमा २ देखि ५ प्रतिशत इथानोल मिश्रण गर्दै क्रमशः १० प्रतिशतसम्म पुर्‍याउने लक्ष्य लिइएको उनले बताए ।

हाल नेपाल शतप्रतिशत आयातित पेट्रोलमा निर्भर रहँदै आएको अवस्थामा इथानोल प्रयोगले पेट्रोल आयात घटाउन मद्दत गर्ने र विदेशी मुद्रा सञ्चिति जोगिने विज्ञहरूको भनाइ छ । इथानोल जैविक ऊर्जाको स्रोत हो, जुन उखुबाट चिनी उत्पादन गर्दा निस्कने मोलासिस, विभिन्न खाद्यान्न तथा सिमलतरुलजस्ता कृषिजन्य कच्चापदार्थबाट उत्पादन गर्न सकिन्छ । यसले स्वदेशमै ऊर्जा उत्पादनको सम्भावना बढाउने निगमको विश्वास छ ।

इथानोल मिश्रणका लागि ९९.५ प्रतिशत शुद्धता भएको इथानोल प्रयोग गरिनेछ । इथानोल नेपालका लागि नयाँ अभ्यास भए पनि भारत, ब्राजिल, अमेरिका र जापानलगायत देशमा यसको व्यापक प्रयोग भइरहेको निगमले जनाएको छ । भारतले हाल २० प्रतिशतसम्म इथानोल मिश्रित पेट्रोल बिक्रीवितरण गरिरहेको उदाहरण दिँदै निगमले नेपालमा भने सुरुआत १० प्रतिशतसम्म सीमित राखिने स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्बाट स्वीकृत आदेशअनुसार इथानोलको गुणस्तर मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गर्नेछ । मापदण्ड तय भएपछि सार्वजनिक सूचनामार्फत उत्पादकलाई इथानोल आपूर्तिका लागि आह्वान गरिने निगमले जनाएको छ । हाल उपलब्ध चिनी मिलहरूबाट दैनिक ४० देखि ५० हजार लिटर इथानोल उत्पादन सम्भव भए पनि १० प्रतिशत मिश्रणका लागि दैनिक करिब दुई लाख लिटर इथानोल आवश्यक पर्ने निगमको अनुमान छ ।

इथानोल प्रयोगले वातावरणीय प्रदूषण घटाउने, पेट्रोलको अक्टेन नम्बर बढाउने र इन्जिनको कार्यक्षमता सुधार्ने निगमको दाबी छ । साथै, इथानोल उत्पादनका लागि आवश्यक कच्चापदार्थ किसानले उत्पादन गर्ने भएकाले कृषकको आयआर्जन बढ्ने, नयाँ उद्योग स्थापना हुने र रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । उत्पादकबाट आवश्यक मात्रामा इथानोल उपलब्ध भए चालु आर्थिक वर्षको अन्त्यदेखि नै इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउन सकिने निगमले जनाएको छ ।

1

Scroll to Top