कात्तिकमा २५ वर्षयताकै न्यून विन्दुमा पुगेको मूल्यवृद्धि दर मंसिरमा फेरि उकालो लागेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरमा उपभोक्ता मुद्रास्फीति दर बढेर १.६३ प्रतिशत पुगेको छ । कात्तिकमा यो दर १.११ प्रतिशत रहेको थियो । एकै महिनामा मूल्यवृद्धि दर ०.५२ प्रतिशत विन्दुले बढेपछि एक वर्षदेखि निरन्तर घट्दै आएको मुद्रास्फीतिको प्रवृत्तिमा ब्रेक लागेको छ ।
केही समययता देशमा मूल्यवृद्धि दर घट्दो क्रममा थियो । कात्तिकको मुद्रास्फीति दर २०५७/५८ सालपछिकै सबैभन्दा न्यून थियो । तर मंसिरमा खाद्य तथा पेय पदार्थमा देखिएको मूल्य गिरावटको गति कम हुनु र गैरखाद्य तथा सेवा क्षेत्रमा मूल्यवृद्धि बढ्नुले समग्र मुद्रास्फीतिलाई माथि धकेलेको राष्ट्र बैंकको विश्लेषण छ ।
राष्ट्र बैंकका अनुसार पछिल्ला तीन वर्षयता बजारमा मूल्यवृद्धि दर तुलनात्मक रूपमा न्यून विन्दुमा रहँदै आएको छ । विशेषगरी गत एक वर्षदेखि मुद्रास्फीति निरन्तर घट्दो क्रममा थियो । गत वर्षको मंसिरमा मूल्यवृद्धि दर ६.०५ प्रतिशत रहेको थियो । त्यसपछि पुसमा ५.४१ प्रतिशत, माघमा ४.१६ प्रतिशत, फागुनमा ३.७५ प्रतिशत र चैतमा ३.२९ प्रतिशतमा झरेको थियो ।
कुन महिना कति ?महिना मूल्यवृद्धि दर (प्रतिशत) मंसिर (गत वर्ष) ६.०५ पुस ५.४१ माघ ४.१६ फागुन ३.७५ चैत ३.२९ वैशाख २.७७ जेठ २.७२ असार २.२० साउन १.८७ भदौ १.६८ असोज १.४७ कात्तिक १.११ मंसिर (चालु) १.६३
यो गिरावट चालु आर्थिक वर्षको सुरुवातपछि पनि जारी रह्यो । वैशाखमा मूल्यवृद्धि दर २.७७ प्रतिशत, जेठमा २.७२ प्रतिशत, असारमा २.२० प्रतिशत, साउनमा १.८७ प्रतिशत, भदौमा १.६८ प्रतिशत र असोजमा १.४७ प्रतिशतमा सीमित भएको थियो । कात्तिकमा सबैभन्दा न्यून १.११ प्रतिशतमा झरेको मुद्रास्फीति दर मंसिरमा भने एक वर्षपछि पहिलोपटक बढेको हो ।
मूल्यवृद्धि दर घट्दा कस्तो असर पर्छ ?
देशको अर्थतन्त्रमा मूल्यवृद्धि दर घट्नु सामान्यतया सकारात्मक संकेत मानिन्छ । मूल्यवृद्धि घट्दा उपभोक्ताले दैनिक उपभोग्य वस्तु तथा सेवामा तिर्नुपर्ने खर्चको चाप कम हुन्छ । यसले सर्वसाधारणको क्रयशक्ति जोगिन मद्दत पुग्ने अर्थशास्त्रीहरू बताउँछन् ।
मूल्यवृद्धि दर न्यून हुँदा खाद्यान्न, तरकारी, इन्धन, लत्ताकपडा तथा सेवाको मूल्य स्थिर रहने वा सस्तो हुने सम्भावना बढ्छ । यसले विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारलाई राहत पुग्ने देखिन्छ । खर्च कम हुँदा घरायसी बजेट सन्तुलनमा आउँछ र बचत गर्ने क्षमतामा पनि सुधार आउँछ ।
तर मूल्यवृद्धि अत्यधिक घट्दा अर्थतन्त्रका लागि जोखिम पनि देखिन सक्छ । लामो समयसम्म मूल्यवृद्धि दर धेरै न्यून रहँदा बजारमा माग कमजोर हुने संकेत मानिन्छ । उपभोक्ताले खर्च गर्नुभन्दा बचत गर्न थाल्दा व्यापार, उद्योग र सेवा क्षेत्र प्रभावित हुन सक्छन् । यसले उत्पादन घट्ने र रोजगारीमा समेत असर पर्न सक्ने अर्थविद्हरूको भनाइ छ ।
मूल्यवृद्धि घट्दा बैंक तथा वित्तीय प्रणालीमा पनि प्रभाव पर्छ । मुद्रास्फीति न्यून हुँदा ब्याजदर घट्ने दबाब पर्छ । ब्याजदर धेरै तल झर्दा बैंकको आम्दानी घट्न सक्छ भने ऋण विस्तार सुस्त हुन सक्छ । यदि ब्याजदर मुद्रास्फीति दरभन्दा माथि पुगेमा वास्तविक ब्याजदर महँगो भई लगानी निरुत्साहित हुने अवस्था पनि आउन सक्छ ।
अर्कोतर्फ, निर्यातमुखी उद्योगका लागि पनि अत्यधिक न्यून मूल्यवृद्धि चुनौतीपूर्ण हुन सक्छ । आन्तरिक माग कमजोर हुँदा उत्पादन बढाउन कठिन हुन्छ । सरकारको कर संकलनमा पनि असर पर्न सक्छ, जसले विकास खर्च र सार्वजनिक लगानीलाई प्रभावित बनाउने जोखिम रहन्छ ।


