नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले हेटौंडामा दुई नयाँ इलेक्ट्रिक एसयूभी बीई–६ र एक्सईभी ९–ई सार्वजनिक गरेको छ। हेटौंडा तथा आसपासका ग्राहकलाई लक्षित गरी ती सवारी साधन सार्वजनिक गरिएको हो।
हेटौँडा उपमहानगरपालिका–७, न्युरेनिस्थित महिन्द्रा शोरूममा आयोजित कार्यक्रममा यी नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरिएका हुन् । समारोहमा विशेष अतिथिका रूपमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट र ट्राफिक प्रहरी प्रभाग हेटौँडाका प्रहरी निरीक्षक बचु राम फुयाँल, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थिए ।
महिन्द्राका बीई–६ र एक्सईभी ९–ई अत्याधुनिक ‘इङ्ग्लो’ प्लेटफर्ममा आधारित छन् र विश्वकै उन्नत ‘माया’ इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चरबाट सञ्चालित छन्। यी इलेक्ट्रिक एसयूभी सार्वजनिक भएसँगै नेपालमा विद्युतीय सवारीको क्षेत्रीय विकासमा नयाँ चरण सुरु भएको छ। यी मोडलहरू सन् २०२५ अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत पहिलोपटक नेपाली बजारमा परिचित गराइएको थियो।
यी नयाँ गाडीहरूले नेपाली ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको र माग बढ्दै गएपछि अग्नि ग्रुपले महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ लाइनअपलाई देशका विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ। यसले उपत्यकाबाहिरका ग्राहकले पनि विश्वस्तरीय विद्युतीय एसयूभी प्रयोग गर्न सक्ने अवसर पाउनेछन्। यही योजनाअनुसार देशका प्रमुख सहरी केन्द्रहरूमा विस्तार गरिँदै छ। हेटौंडामा गरिएको यो क्षेत्रीय शुभारम्भ सोही योजनाको महत्वपूर्ण कदम मानिएको छ।
यी दुवै एसयूभीले बलियो प्रदर्शन दिन्छन्। अधिकांश भेरियन्टहरूले ९९ किलोवाट पावरका साथ दैनिक यात्रा सहज बनाउँछन् भने एक्सईभी ९-ई को प्याक थ्री भेरियन्ट १९९ किलोवाट पावरले अझ रोमाञ्चक ड्राइभिङ अनुभव दिन्छ।
एक्सईभी ९-ई मा ट्रिपल स्क्रिन सिनेमाटिक डिस्प्ले छ भने बीई–६ मा ‘रेस-रेडी डिजिटल ककपिट’ रहेको छ। बीई–६को मूल्य ५७ लाखदेखि सुरु हुन्छ र तीन भेरियन्टमा उपलब्ध छ, जबकि एक्सईभी ९-ई ६९ लाखदेखि उपलब्ध छ। महिन्द्राले दुवै मोडेलका सबै भेरियन्टका लागि बुकिङ खुला गरिसकेको छ।


