विदेशी लगानीकर्ताले नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको प्रतिफलस्वरूप २० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । उद्योग विभागका अनुसार पछिल्लो १८ महिनामा विदेशी लगानीकर्ताहरुले लगानीको प्रतिफलस्वरूप २० अर्ब ५२ करोड २१ लाख रुपैयाँ लगेका छन् । चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ३३ करोड ४५ लाख र गत आर्थिक वर्षमा १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ गरी उक्त लाभांश रकम वितरण गरिएको हो ।
विभागका अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालू आर्थिक वर्षको छ महिनाको अवधिमा लाभांश वितरण करिब १० गुणले बढी हो । चालू आवको छ महिनामा १० अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लाभांश वितरण गर्दा गत आवको सोही अवधिमा १ अर्ब ६१ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गरिएको हो ।
लगानी प्रतिबद्धताको तुलनामा न्यून लगानी भित्रिए पनि निरन्तर आएको वैदेशिक लगानी र त्यसको प्रतिफलस्वरूप लाभांश वितरण गरिएको हो । सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत ठूलो लाभांश लैजाने गरेको विभागले जनाएको छ । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफा लैजाने गरेको उद्योग मन्त्रालयले जनाएको छ ।
उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ । विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् ।
नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । पछिल्लो १८ महिनामा मात्र नभई सोभन्दा अघि पनि निरन्तर लाभांश लगेको विभागका तथ्यांकमा देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब ३५ करोड ८५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । विभागले मासिकरूपमा लाखौँ रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो ।
विदेशी लगानीकर्ताले लगानी गरेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाउने गरेका छन् । चालू आवको छ महिनामा ३ अर्ब ९० करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । पुसमा मात्र २ अर्ब २७ करोड ६९ लाख रुपैंया राजस्व संकलन गरिएको छ । विभागले लाभांश वितरण राजस्व संकलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए)लगायतका कामहरू गरेको छ । समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको पाइन्छ । सरकारले विदेशी लगानीलाई सहजीकरण गर्नका लागि स्वचालित मार्गबाट समेत लगानी भित्र्याउने र लभांश वितरणको काम गरेको छ । विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यसायमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।क्रम लगानीकर्ता देश प्रमुख लगानी / लाभांश आएको क्षेत्र १ भारत उद्योग, सेवा, दूरसञ्चार, ऊर्जा, उपभोक्ता वस्तु २ आयरल्याण्ड सूचना प्रविधि, सेवा, बहुराष्ट्रिय कम्पनी ३ अष्ट्रेलिया पर्यटन, सेवा, ऊर्जा ४ बेलायत वित्त, सेवा, उत्पादनमूलक उद्योग ५ पाकिस्तान उत्पादन, व्यापारिक उद्योग ६ मौरिसस लगानी होल्डिङ, वित्तीय सेवा ७ सिंगापुर सूचना प्रविधि, सेवा, व्यापार ८ बंगलादेश उत्पादन, सेवा ९ अन्य (१५+ मुलुक) कृषि, वन पैदावर, ऊर्जा, साना उद्योग


