Banijya News

मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब नाघ्यो

1
1.2K Shares

देशको वैदेशिक घाटा घाटा सात खर्ब ९७ अर्ब नाघेको छ । निर्यात उल्लेख्य रूपमा बढे पनि आयातको आकार ठूलोहुँदा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामै मुलुकको व्यापार घाटा सात खर्ब ९७ अर्ब रुपैयाँ नाघेको हो । छ महिनामा व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १७.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ७ खर्ब १३ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकले ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको आयात गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा कुल आयात ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ बराबर रहेको थियो । यता निर्याततर्फ भने उत्साहजनक वृद्धि देखिएको छ । पुससम्म निर्यात एक खर्ब ४२ अर्ब एक करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.७६ प्रतिशतले वृद्धि हो । गत वर्ष पुससम्म निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँमा सीमित थियो ।

यस अवधिमा आयात–निर्यात अनुपातमा भने केही सुधार देखिएको छ । अघिल्लो वर्ष ८.३२ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.६१ मा झरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । अघिल्लो वर्ष १०.७२ प्रतिशत रहेको निर्यात हिस्सा चालु वर्षमा बढेर १३.१४ प्रतिशत पुगेको छ । त्यसैगरी आयातको हिस्सा ८९.२८ प्रतिशतबाट घटेर ८६.८६ प्रतिशतमा सीमित भएको छ ।

1

Scroll to Top