प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । निर्वाचन आयोग नेपालले दिएको जानकारी अनुसार मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ र निर्वाचन क्षेत्र नं. २ का लागि अधिकतम ३३ लाख रुपियाँ खर्च गर्न सक्ने उल्लेख छ । आयोगले तोकेको खर्चको सिमाभित्र रहेर निर्वाचनमा उम्मेदवारले खर्च गर्नुपर्ने उल्लेख छ ।
मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवार छन । क्षेत्र नम्बर–१ बाट विभिन्न दलबाट १३ जना र १० जनाले स्वतन्त्र तथा क्षेत्र नम्बर–२ बाट विभिन्न दलबाट १६ जना र पाँच जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौँडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन् । क्षेत्र नम्बर २ मा हेटौँडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन् ।
मकवानपुरमा तीन लाख १५ हजार तिन सय ३४ जना मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार चार सय ३५ र क्षेत्र नम्बर दुईमा एक लाख ५६ हजार आठ सय ९९ मतदाता छन् । महिला एकलाख ५३ हजार तिन सय ७६, पुरुष एकलाख ६१ हजार नौ सय ५३ पुरुष र पाँच जना अन्य मतदाता छन् । एक सय २ वटा वडा रहेको मकवानपुरमा एक सय ६७ मतदान स्थल र तिन सय ७४ मतदान केन्द्र छन् ।


