Banijya News

४० लाख टन कार्बन क्रेडिट बिक्री गर्दै नेपाल, कति हुन्छ आम्दानी ?

1
1.2K Shares

नेपालले अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक व्यावसायिक रूपमा कार्बन क्रेडिट बिक्री गर्न लागेको छ । नेपाल सरकार र अमेरिकी गैरनाफामूलक संस्था ‘इमर्जेन्ट फरेस्ट फाइनान्स एक्सिलिरेटर इन्कर्पोरेटेडबीच नेपालले वन संरक्षण गरेबापत कार्बन क्रेडिट बिक्री गर्ने सम्झौता हुन लागेको हो । नेपालले यस सम्झौताबाट झन्डै ८ अर्ब रुपैयाँ आम्दानी गर्ने छ। वन मन्त्रालयका अनुसार इमर्जेन्टसँग गरिने उत्सर्जन कटौती खरिद सम्झौता (ईआरपीए) लाई हालै मन्त्रीपरिषद्बाट स्वीकृति मिलिसकेको छ। यससँगै नेपालले रेड प्लस कार्यक्रमअन्तर्गत वन संरक्षण र पुनःस्थापनाबाट प्राप्त कार्बन क्रेडिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने औपचारिक बाटो खोलेको हो।

सम्झौताअनुसार नेपालले सुरुमा १० लाख कार्बन क्रेडिट बिक्री गर्ने सुनिश्चितता पाएको छ। साथै, भविष्यमा थप ३० लाखसम्म कार्बन क्रेडिट खरिद गर्न सक्ने विकल्प पनि सम्झौतामा राखिएको छ। यसरी हेर्दा नेपालले कुल ४० लाख टन बराबरको कार्बन क्रेडिट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्ने अवस्था बनेको छ। वन मन्त्रालयका अनुसार यी ४० लाख कार्बन क्रेडिट बिक्रीबाट नेपालले कुल ५ करोड ५० लाख अमेरिकी डलर आम्दानी गर्नेछ, जुन नेपाली रुपैयाँमा करिब ७ अर्ब ९७ करोड रुपैयाँ बराबर हुन्छ। यो आम्दानी उच्च गुणस्तरको प्रमाणित उत्सर्जन कटौतीमा आधारित हुनेछ।

सम्झौतामा कार्बन क्रेडिट प्रयोग र स्वामित्वका आधारमा चारवटा ‘पाथवे’ तय गरिएका छन्। पाथवे १, २ र ३ अन्तर्गत बिक्री गरिने ३० लाख कार्बन क्रेडिटको मूल्य प्रतिक्रेडिट १० अमेरिकी डलर तोकिएको छ। यी क्रेडिट खरिदकर्ताले प्रयोग वा रद्द गरे पनि नेपालले आफ्नो राष्ट्रिय जलवायु लक्ष्य (एनडीसी) मा गणना गर्न पाउनेछ। पाथवे ४ अन्तर्गत भने नेपालले १० लाख कार्बन क्रेडिट बिक्री गर्न पाउनेछ, जसको मूल्य प्रतिक्रेडिट अधिकतम २५ अमेरिकी डलरसम्म हुनेछ। यो पाथवे पेरिस सम्झौताको धारा ६.२ अनुसार ‘अन्तर्राष्ट्रिय रूपमा स्थानान्तरण गरिएको न्यूनीकरण परिणाम’ मानिने भएकाले यसको मूल्य बढी राखिएको हो। तर, यस अन्तर्गत बेचिने क्रेडिट नेपालले आफ्नो राष्ट्रिय जलवायु लक्ष्यमा गणना गर्न पाउने छैन।

यो सम्झौताबाट प्राप्त रकम नेपाल सरकारले पूर्वस्वीकृत कार्यहरूमा मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको छ। वन संरक्षण, स्थानीय समुदायको हित, जीविकोपार्जन सुधार र दिगो विकाससम्बन्धी कार्यक्रमहरूमा यो रकम उपयोग गरिने जनाइएको छ। यसका लागि नेपाल ‘आर्ट’ नामक अन्तर्राष्ट्रिय संयन्त्रमा दर्ता हुनेछ। नेपालले सन् २०५० सम्म नेट–जिरो हरितगृह ग्यास उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ। साथै, सन् २०३० सम्म कुल भूभागको ४५ प्रतिशत वन क्षेत्र कायम राख्ने राष्ट्रिय निर्धारित योगदान लक्ष्य पनि रहेको छ। वन मन्त्रालयका अनुसार इमर्जेन्टसँगको यो ऐतिहासिक सम्झौताले ती लक्ष्य हासिल गर्न आर्थिक तथा प्राविधिक रूपमा महत्वपूर्ण टेवा पुयाउने अपेक्षा गरिएको छ।

कार्बन क्रेडिट के हो ?

कार्बन क्रेडिट भनेको कुनै व्यवसाय, उद्योग वा देशलाई निश्चित मात्रामा कार्बन डाइअक्साइड तथा अन्य हरितगृह ग्यास उत्सर्जन गर्न दिइने आधिकारिक अनुमति हो। सामान्यतया एक कार्बन क्रेडिट एक टन कार्बन डाइअक्साइड बराबरको उत्सर्जन गर्ने अधिकारका रूपमा बुझिन्छ। उद्योग, ऊर्जा उत्पादन, यातायात जस्ता गतिविधिबाट वातावरणमा पर्ने नकारात्मक असरलाई नियन्त्रण गर्न र जलवायु परिवर्तनको प्रभाव घटाउन कार्बन क्रेडिट प्रणाली विकास गरिएको हो। यस प्रणालीअन्तर्गत तोकिएको सीमा भन्दा कम उत्सर्जन गर्ने देश वा संस्थाले बचत भएको उत्सर्जनलाई ‘कार्बन क्रेडिट’का रूपमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सक्छन्।

यसले एकातर्फ वातावरण संरक्षणलाई प्रोत्साहन गर्छ भने अर्कोतर्फ कम उत्सर्जन गर्ने देश तथा संस्थालाई आर्थिक लाभको अवसर पनि प्रदान गर्छ। वन संरक्षण, नवीकरणीय ऊर्जा प्रयोग र हरित प्रविधिको विकासमार्फत उत्सर्जन घटाउने प्रयासलाई कार्बन क्रेडिटले प्रोत्साहन गर्ने विज्ञहरू बताउँछन्। विश्वव्यापी रूपमा जलवायु संकट चर्किँदै जाँदा कार्बन क्रेडिटलाई हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने महत्वपूर्ण औजारका रूपमा लिइएको छ। यही कारण पछिल्ला वर्षहरूमा कार्बन क्रेडिटको कारोबार अन्तर्राष्ट्रिय बजारमा तीव्र रूपमा विस्तार हुँदै गएको छ।

कार्बन क्रेडिट कसरी उत्पादन हुन्छ ?

कार्बन क्रेडिट त्यतिबेला उत्पादन हुन्छ, जब कुनै देश, संस्था वा समुदायले तोकिएको आधाररेखाभन्दा कम कार्बन डाइअक्साइड वा अन्य हरितगृह ग्यास उत्सर्जन गर्छ वा वातावरणबाट सोस्छ। यस्तो कटौतीलाई अन्तर्राष्ट्रिय रूपमा मापन, प्रमाणीकरण र दर्ता गरेपछि मात्र त्यसलाई कार्बन क्रेडिट मानिन्छ। मुख्यतः पाँच क्षेत्रबाट कार्बन क्रेडिट उत्पादन हुने गर्छ l

  • वन संरक्षण र वृक्षारोपण

वनले वातावरणबाट कार्बन डाइअक्साइड सोस्ने भएकाले वन कटान रोक्ने, नयाँ वन विस्तार गर्ने वा बिग्रिएका वन क्षेत्र पुनर्स्थापना गर्ने कामबाट ठूलो परिमाणमा कार्बन क्रेडिट उत्पादन हुन्छ। नेपालजस्ता वनसम्पन्न देशमा रेड प्लस कार्यक्रममार्फत यस्तै क्रेडिट उत्पादन गरिन्छ।

  • नवीकरणीय ऊर्जाको प्रयोग

सौर्य ऊर्जा, पवन ऊर्जा, जलविद्युत् र बायोग्यास जस्ता स्वच्छ ऊर्जाले डिजेल, कोइला वा ग्यासको प्रयोग घटाउँछ। यसरी जीवाश्म इन्धनबाट हुने उत्सर्जन कम हुँदा त्यसको बराबर कार्बन क्रेडिट उत्पादन हुन्छ।

  • ऊर्जा दक्षता वृद्धि

उद्योग, भवन वा यातायात क्षेत्रमा कम ऊर्जा प्रयोग हुने प्रविधि अपनाउँदा उत्सर्जन घट्छ। उदाहरणका लागि, पुराना मेसिनको सट्टा ऊर्जा–दक्ष मेसिन प्रयोग गर्दा बचत भएको कार्बन उत्सर्जनलाई क्रेडिटमा रूपान्तरण गर्न सकिन्छ।

  • फोहर व्यवस्थापन

फोहरबाट निस्कने मिथेन ग्यास संकलन गरी ऊर्जा उत्पादन गर्ने वा फोहरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्दा उत्सर्जन कम हुन्छ। यसबाट पनि कार्बन क्रेडिट उत्पादन हुन्छ।

  • कृषि र भूमि उपयोग सुधार

माटो संरक्षण, सुधारिएको कृषि अभ्यास, जैविक खेती तथा चरन व्यवस्थापनले पनि हरितगृह ग्यास उत्सर्जन घटाउने भएकाले यी क्षेत्रबाट समेत कार्बन क्रेडिट उत्पादन सम्भव हुन्छ। यी सबै गतिविधिबाट भएको उत्सर्जन कटौतीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार मापन गरिन्छ। त्यसपछि तेस्रो पक्षबाट प्रमाणीकरण भएपछि मात्र उक्त कटौती ‘कार्बन क्रेडिट’का रूपमा दर्ता हुन्छ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न योग्य बन्छ।

विज्ञहरूका अनुसार कार्बन क्रेडिट उत्पादनले वातावरण संरक्षणसँगै विकासशील देशका लागि नयाँ आर्थिक अवसर पनि सिर्जना गरिरहेको छ।

1

Scroll to Top