Banijya News

सुन महँगिँदा बजारमा छैनन् किन्ने ग्राहक, आयात भने अझैं उकालो

1
1.2K Shares

नेपाली बजारमा सुनको मूल्य सँगै आयात पनि बढ्दै गएको छ । मूल्यवृद्धिका कारण कारोबार घटिरहेका बेला आयात भने बढेको छ । परम्परागत लगानीका लागि तुलनात्मक रुपमा सुरक्षित मानिने सुनप्रति उपभोक्ताको आकर्षण बढेसँगै चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा १८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको भित्रिएको छ ।

भन्सार विभागका अनुसार, पुस मसान्तसम्ममा १८ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ बराबरको एक हजार ५३ किलोग्राम सुन भित्रिएको छ, जुन परिमाणका आधारमा गत आवको यसै अवधिको तुलनामा ८० प्रतिशत बढी हो । गत आवको पुससम्ममा ६ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बराबरको ५८६ केजी सुन आयात भएको थियो । सरकारले चालु आवको पहिलो ६ महिनामा सुन आयातबाट १ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

पुस महिनामा मात्र ३ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको १५० केजी सुन भित्रिएको छ । जबकी गत मंसिरमा एक केजी मात्र सुन आयात भएको थियो । त्यसैगरी, कात्तिकमा ३०१ केजी, असोजमा ४०० केजी, भदौमा १०१ केजी र साउनमा १०० केजी सुन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । असोजको अन्तिम साता नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा वृद्धि गरेर २५ केजी पु¥याएको थियो । सो आधारमा पछिल्लो ६ महिनामध्ये सबैभन्दा धेरै सुन भित्रिएको महिना नै असोज हो । सुनको मूल्य अधिक बढ्दा पनि माग भने नघटेको नेपाल राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले बताए । गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षमा सुनको आयात बढेको हो ।

सुन महँगिँदा बजारमा छैनन् किन्ने ग्राहक

सुनको मुल्य बढेपछि सुनको बजार कारोबार प्रभावित भएको छ । सुनको मुल्य आकासिँदे जाँदा उपभोप्ताले सुन खरी दगर्न छोडेका छन् । सुनको मुल्य अत्याधिक बढेसँगै बजारमा गोल्ड प्लेटेड गहनाको बिक्री बढेको छ । चाँदीका सामानको पनि बिक्रीमा गिरावट छ । विवाहको लगनको महिना माघमा पनि मुल्यका कारण बजार बजार सुस्त छ । गरगहना खरिदबिक्री उच्च हुने यसमहिना यो पटक भने सुनसान छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनका तुलनामा माघ ११ आइतबार दुई हजार चार सय रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला तीन लाख तीन हजार आठ सय रुपैयाँ पुगेको छ । सुनको यो भाउ हालसम्मकै सर्वाधिक हो । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला तीन लाख एक हजार चार सय रुपैयाँ रहेको थियो । गत वर्ष यसै अवधिमा तोलाको एक लाख ६० हजार रुपैयाँ थियो । एक वर्षमा सुन तोलामा १ लाख ४० हजार भन्दा धेरैल बढेको छ ।

गत पुसमा व्यवसायीहरूले माघका लागि बैंकबाट सुन खरिद गरेर भण्डारण गरेका थिए । बैंकहरूले पनि थप माग बढ्ने अनुमान गर्दै आयात गरेका थिए । पुस मसान्तसम्म तीन वटा बैंकले कुल १५० किलो सुन आयात गरेका थिए। तर अहिले उक्त सुन बिक्री नभएर बैंकमा रोकिएको छ । बैंकर्स संघका अनुसार हाल करिब १४० किलो सुन स्टकमा छ । माग नहुँदा अरु बैंकहरूले हालसम्म नयाँ खेप आयात गरेका छैनन् । गत पुसमा सुन आयात गर्न सिफारिस लिएका बैंकहरूले पनि केही समय ’पर्ख र हेर’को अवस्थामा छन्।

किन बढिरहेको छ सुनको मुल्य ?

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको बताईन्छ । जहिले पनि अन्तर्राष्ट्रिय तनाव वा द्वन्द्व बढ्दा सुन र चाँदीको मूल्य पनि बढ्ने गर्छ । अन्तर्राष्ट्रिय स्तरमा बढेको द्वन्द्वले सुनचाँदीको भाउमा बढी प्रभाव परेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्कतका कारण विभिन्न मुलुकलाई यतिबेला तनाव बढेको छ । हालै भेनेजुएला कब्जा गरेका ट्रम्पले इरान, ग्रिनल्यान्ड लगायत मुलुकलाई समेत धम्की दिँदै आएका छन् । त्यस्तै रुससँग तेल खरिद गर्दै आएका भारतसहित विभिन्न मुलुकलाई ५०० प्रतिशत ट्यारिफ लगाउने ट्रम्पले चेतावनी दिएका छन् ।

यसले अन्तर्राष्ट्रिय द्वन्द्व बढ्ने डरले विभिन्न केन्द्रीय बैंक र लगानीकर्ता समेत सुन र चाँदीमा लगानी बढाइरहेका छन् । जसले मागसँगै मूल्य बढिरहेको बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय कमोडिटी बजारमा मूल्य बढ्दा नेपाली बजारमा त्यसको सिधा असर पर्दछ ।

बैंकहरुले किन आयात गर्छन् सुन ?

बैंकहरूले सुन आयात गर्ने प्रवृत्ति बढ्दो छ । देशको भित्री बजारमा सुनको माग उच्च भएको कारण बैंकहरूले विदेशी बजारबाट सुन खरिद गरेर उपलब्ध गराउने काम गर्छन् । सुनमा लगानी गर्नेको संख्या बढ्दै गएसँगै, बैंकहरूले यो अवसरलाई वित्तीय कारोबारको रूपमा पनि उपयोग गरिरहेका छन्। यसरी आयात गरिएको सुनले देशको आर्थिक गतिविधिमा पनि योगदान पु¥याउँछ र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउँछ । बैंकहरूले विदेशी मुद्रा सञ्चय गर्न पनि सुन आयात गर्ने गर्छन् । सुनलाई आर्थिक सुरक्षाको माध्यम मान्दै, बैंकहरूले आवश्यक परेमा अन्तर्राष्ट्रिय बजारमा बेचेर आर्थिक सन्तुलन कायम राख्न सक्छन्। यसबाहेक, व्यक्तिगत लगानीकर्तालाई पनि सुन खरिदमा सजिलो पहुँच दिलाउन बैंकहरूले आयात प्रक्रिया अघि बढाउँछन्। यसरी, बैंकहरूको सुन आयातले वित्तीय बजारमा स्थिरता र विश्वास दुवै बढाउँछ।

प्रतिऔंस ५ हजार ४०० सम्म पुग्ने अनुमान

एक औंस बराबर २.४३ तोला हुन्छ । गोल्डम्यान साचले सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ५ हजार ४०० सम्म पुग्ने अनुमान गरेको छ। यसअघि उसले सन् २०२६ मा सुनको मूल्य प्रतिऔंस ४ हजार ९०० पुग्ने अनुमान गरेको थियो। आजै अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ९८८ पुगिसकेको छ। पछिल्लो समय विश्व राजनीतिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको तरंगले सुनको मूल्य ह्वात्तै बढिरहेको हो। साचले तय गरेको आंकडाभन्दा पनि सुनको मूल्य बढ्न सक्ने विश्लेषकहरुले बताएका छन्। पछिल्लो ६ महिनामा डलरको मूल्य प्रतिऔंस १ हजार ५४० डलर बढेको छ । त्यसमा पछिल्लो एक महिनामा मात्रै ४३० डलर बढेको छ । यता जेपी मोर्गनले पनि सुनको मूल्य सन् २०२६ मा थप बढ्ने अनुमान सार्वजनिक गरेको छ।

यसअघि जेपी मोर्गनले सन् २०२६ को पहिलो त्रैमासमा सुनको मूल्य ४ हजार ७५३ अमेरिकी डलर प्रतिऔंस पुग्ने भनेको थियो। सन् २०२६ को पहिलो महिनामा नै सो आंकडा पार भइसकेको छ। सन् २०२७ सम्म ५ हजार २४५ अमेरिकी डलर प्रतिऔंस पुग्न सक्ने जेपी मोर्गनको अनुमान थियो । अहिले सुनको बढ्दो माग र राजनीतिक तरलताबीच सुनको मूल्य ५ हजार डलर प्रतिऔंस पुग्ने अब धेरै कुर्नुपर्दे देखिँदैन । अहिलेकै अवस्था कायम रहे सुनको मूल्य सन् २०२६ अन्त्यसम्ममा ६ हजार अमेरिकी डलर प्रतिऔंस पुग्ने सक्ने जेपी मोर्गनले उल्लेख गरेको छ। यसको असर नेपाली बजारमा पनि हुनेछ।

1

Scroll to Top