सिटिजन्स बैंक इन्टरनेसनलले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेनजी सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । हालै बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त खाताको प्रारम्भ गरे । ग्राहकलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउने क्रममा यो खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । यो बचत खाताबाट युवा – विशेष गरी विद्यार्थी, फ्रीलान्सर, क्रिएटर, उद्यमशील युवा तथा डिजिटल प्लेटफर्ममा सक्रिय समुदायलाई उनीहरूको जीवनशैलीअनुरूपको वित्तीय आवश्यकताको समाधान प्रदान गर्ने विश्वास लिइएको छ ।
यसको विशेषतामा न्यूनतम १०० रुपैयाँमा नै खाता सञ्चालन गर्न सकिनुका साथै वार्षिक ३.०२ प्रतिशत ब्याजदर प्रदान गरिनेछ । साथै, युवा ग्राहकको कारोबारलाई सहज बनाउन चेकबुक, डिम्याट खाता, सी–आश्वा कमिसन तथा सी–आश्वा रेजिस्ट्रेसनजस्ता महत्त्वपूर्ण सेवा पहिलो वर्ष निःशुल्क उपलब्ध गराइनेछ । डिजिटल सेवामा अझै बढी प्रोत्साहन दिन एटीएम कार्ड, मोबाइल बैंकिङ, ई–कम कार्ड र इन्टरनेट बैंकिङ गरी चारै सेवा एकैपटक लिएमा ५०० रुपैयाँमा उपलब्ध हुने विशेष बन्डल्ड सुविधा समेत राखिएको बैंकले जनाएको छ ।
“ग्राहकहरूले ट्राभल कार्ड इस्यु चार्जमा ५० प्रतिशत छुट र मोबाइल बैंकिङमा समर्पित जेनजी ड्यासबोर्डमार्फत व्यक्तिगत डिजिटल अनुभवको आनन्द लिने अवसर पाउनुहुनेछ,” बैंकले भनेको छ, “यस बचत खाता प्रयोगकर्ताहरूलाई पहिलो मोबाइल टपअपमा २५ प्रतिशत नगद फिर्ता प्राप्त हुनेछ ।”
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल यो बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । फ्रीलान्सरलक्षित ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिसकेको छ । साथै, नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा, जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याइएको बैंकले जनाएको छ ।


