Banijya News

म्युचुअल फन्डहरूले सेयरमा बढाए लगानी, कुनको कति ?

1
1.1K Shares

पुँजी बजारमा सक्रियता बढ्दै जाँदा म्युचुअल फन्डहरूले सेयर बजारमा आफ्नो लगानी उल्लेख्य रूपमा बढाएका छन्। पछिल्लो समय विभिन्न म्युचुअल फन्डहरूले बैंक, हाइड्रोपावर, बीमा तथा उत्पादनमूलक कम्पनीहरूको सेयर खरिद बढाएका हुन्। सञ्चालनमा रहेका ५४ म्युचुअल फन्डहरुले पुस मसान्तसम्म सार्वजनिक गरेको वित्तीय विवरणअनुसार फन्डहरुले सेयर बजारमा कुल ५५ अर्ब २९ करोड ९६ लाख ५५ हजार रुपैयाँ लगानी गरेका छन् । यो रकम अघिल्लो महिना मंसिर मसान्तको तुलनामा ५.४८ प्रतिशतले बढी हो । मंसिरमा फन्डहरुको सेयर बजार लगानी ५२ अर्ब ४२ करोड ८८ लाख रुपैयाँ रहेको थियो ।

रिपोर्टअनुसार एनआइबीएल सहभागिता फन्ड सेयर बजारमा सबैभन्दा ठूलो लगानीकर्ता बनेको छ । उक्त फन्डले पुस मसान्तसम्म ७ अर्ब ३० करोड २९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । दोस्रो स्थानमा रहेको एनएमबि सरल बचत फन्ड–इ ले ३ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लगानी १ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

ठूला लगानीकर्ता फन्डहरुको सूचीमा एचएलआई लार्ज क्याप फन्ड (१ अर्ब ७५ करोड १२ लाख), नबिल फ्लेक्सी क्याप फन्ड (१ अर्ब ५२ करोड १९ लाख), सिद्धार्थ इक्विटी फन्ड (१ अर्ब २२ करोड ९५ लाख), एनआइबीएल ग्रोथ फन्ड (१ अर्ब ३ करोड ९१ लाख), एनआइबीएल समृद्धि फन्ड–२ (१ अर्ब २१ करोड ९९ लाख) लगायत रहेका छन् । २० भन्दा बढी म्युचुअल फन्डहरुको सेयर बजार लगानी १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

पुस महिनामा अधिकांश म्युचुअल फन्डहरुको लगानी बढेको देखिएको छ । केही फन्डमा सामान्य गिरावट देखिए पनि समग्रमा बजारतर्फ लगानी प्रवाह बढ्दो क्रममा रहेको रिपोर्टले देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर क्रमशः घट्दै जाँदा मुद्दती निक्षेपमा आकर्षण कम भएको र त्यसको विकल्पका रूपमा म्युचुअल फन्डमार्फत सेयर बजारमा लगानी बढ्दै गएको जानकारहरुको विश्लेषण छ । कम ब्याजदर, सेयर मूल्य तुलनात्मक रूपमा सस्तो हुनु र भविष्यमा राम्रो प्रतिफलको अपेक्षाले म्युचुअल फन्डहरु बैंकिङ प्रणालीबाट पैसा निकालेर पुँजी बजारतर्फ मोडिन थालेको देखिन्छ ।

1

Scroll to Top