नेपालले भारत र बंगलादेशतर्फ २३ अर्ब ७३ करोड ४५ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले यो वर्ष जेठदेखि पुससम्म सो रकमबराबरको विद्युत् निर्यात गरेको जनाएको छ । प्राधिकरणको तथ्यांकअनुसार गत जेठ र असारमा चार अर्ब ३१ करोड ८१ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । प्राधिकरणले राष्ट्र बैंकमा बुझाएको एक प्रारम्भिक तथ्यांकमा साउनदेखि पुससम्म अर्थात् चालू आवको पहिलो ६ महिनामा भने १९ अर्ब ४१ करोड ६४ लाख रुपैयाँबराबरको बिजुली निर्यात भएको छ ।
६ महिनाको यो तथ्यांक राष्ट्र बैंकबाट प्राप्त भएको हो । यसरी यो बर्खामा पौने २४ अर्ब रुपैयाँबराबरको बिजुली निर्यात भएको देखिन्छ । प्राधिकरणले यससम्बन्धी अन्तिम तथ्यांक सार्वजनिक भने गरिसकेको छैन । प्राधिकरणले बर्खाको समयमा भारत र बंगलादेशमा विद्युत् निर्यात गर्छ । प्राधिकरणले असार १ गतेदेखि कात्तिक ३० गतेसम्म भारतीय प्रसारणलाइन प्रयोग गरेर बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरेको छ । त्यस अवधिमा १४७.४३ गिगावाट आवर विद्युत् निर्यात हुँदा ९४ लाख ३६ हजार डलर आम्दानी भएको छ ।
गत वर्ष ०८१ मा १६ अर्ब ७३ करोड ९० लाख रुपैयाँको बिजुली निर्यात भएको थियो । त्यसमध्ये जेठ र असारको सिजनमा तीन अर्ब ६४ करोड ५१ लाख र साउनदेखि पुससम्मको सिजनमा १३ अर्ब नौ करोड ३९ लाख रुपैयाँ हाराहारीको बिजुली निर्यात भएको थियो । ०८० को बर्खामा भने १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
नेपालका अधिकांश जलविद्युत् आयोजनाहरू नदी प्रवाह (आरओआर)मा आधारित छन् । त्यसअनुसार बर्सातमा खोलामा पानी बढी हुँदा विद्युत् उत्पादन पनि बढी हुन्छ । जुन समयमा भारतमा बिजुली निर्यातसमेत गर्न सकिन्छ । हिउँदमा खोलामा पानी कम हुँदा भने विद्युत् उत्पादन पनि स्वत: कम हुन्छ, त्यसवेला भने यहाँको माग धान्न भारतबाटनै विद्युत् आयात गर्नुपर्छ । हिउँदमा नेपालमा क्षमताको ३० प्रतिशत मात्रै विद्युत् उत्पादन हुने गर्छ । प्राधिकरणले सामान्यत: जेठदेखि पुससम्म विद्युत् निर्यात गर्दै आएको छ । अन्य समयमा भारतबाटै आयात गर्नुपर्छ । अहिले पनि भारतबाट झन्डै ६ सय मेगावाट हाराहारीमा विद्युत् आयात भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले यो वर्ष विद्युत् निर्यात उच्चदरमा बढेको बताए । ‘विद्युत् उत्पादन बढ्दै गएको छ । तर, त्यसको तुलनामा आन्तरिक खपत बढ्न सकेको छैन । यहाँ खपत नभएपछि विद्युत् निर्यात नै गर्नुपर्छ । त्यसमाथि यसपालि भारतमा निर्यात गर्न पाउने विद्युत्को स्वीकृत कोटा पनि बढेको छ,’ उनले भने, ‘त्यसले गर्दा यो वर्ष विद्युत् निर्यात उच्चदरमा बढ्यो । आगामी वर्षमा पनि विद्युत् निर्यात बढ्दै जाने विश्वास छ । तर, आन्तरिक खपत पनि बढाउँदै जानुपर्नेछ । नेपालमा खपत भएर बाँकी हुने विद्युत् मात्रै निर्यात गर्ने हो ।’
भारतमा विद्युत् निर्यात गर्न त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणबाट आयोजना नै तोकेर स्वीकृति लिनुपर्छ । हाल त्यहाँबाट विद्युत् निर्यात गर्न पाएको कोटा झन्डै १२ सय मेगावाट छ । प्राधिकरणले यो वर्ष भारतमा १२ सय मेगावाट हाराहारीमै विद्युत् निर्यात गरेको थियो ।
यो वर्ष बंगलादेशमा विद्युत् बिक्री गरेर ९४ लाख ३६ हजार डलर आम्दानी गरेको छ । प्राधिकरणले जुन १५ देखि नोभेम्बर १५ तारिख (असारदेखि कात्तिक)सम्म ४० मेगावाट विद्युत् निर्बाध रूपमा दिने गरी बंगलादेशसँग सम्झौता गरेको थियो । त्यसमा नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउनेछ । यो वर्ष असारदेखि कात्तिकसम्म १४७.४३ गिगावाट आवर अर्थात् १४ करोड ७४ लाख ३० हजार युनिट बिजुली निर्यात भएको छ । त्यसबापत ९४ लाख ३६ हजार डलर आम्दानी भएको छ । गत वर्ष ३० कात्तिकमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्दा २९ हजार डलर आम्दानी भएको थियो । गत मंसिर दोस्रो साता बंगलादेशमा सम्पन्न संयुक्त ऊर्जासचिवस्तरीय बैठकमा नेपालबाट थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । त्यो कार्यान्वयन भएपछि बंगलादेशमा कुल ६० मेगावाट विद्युत् निर्यात गर्न सकिनेछ । त्यो अवस्थामा बंगलादेशमा विद्युत् निर्यात गर्दा हुने आम्दानी थप बढ्नेछ ।


