Banijya News

नेपालबाट बाहिरियो ६ अर्ब ९८ करोड रुपैयाँ रेमिट्यान्स

1
1.2K Shares

चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट औपचारिक माध्यमबाट बाहिरिने रेमिट्यान्स ५२.६६ प्रतिशतले बढेको छ । चालू आवको पुस मसान्तसम्म ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । गत आवको पहिलो ६ महिनामा नेपालबाट चार अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको थियो । नेपालमा विदेशी कामदारको संख्या बढ्न थालेपछि बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको हो । अघिल्लो आव ०८०/८१ सम्म नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । कोरोना र त्यसपछिको आर्थिक शिथिलताले नेपालबाट बाहिरिने रेमिट्यान्स बढ्न सकेको थिएन । गत आवदेखि भने नेपालबाट बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको हो ।

वैदेशिक रोजगारीबाट नेपालमा उच्च मात्रामा रेमिट्यान्स भित्रिन्छ । चालू आवको ६ महिनामा रेमिट्यान्स आप्रवाह ३९ प्रतिशतले बढेको छ । गत आवको ६ महिनामा सात खर्ब ६४ अर्ब ३० करोड ८० लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालू आवमा ६ महिनामा भने १० खर्ब ६२ अर्ब ९२ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपालमा रेमिट्यान्स आप्रवाह उच्चदरमा बढ्दै आएको छ । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको उच्च योगदान छ । तर, यही देशबाट बाहिरिने रेमिट्यान्स पनि बढ्न थालेको छ । यद्यपि, त्यो रकमका आधारमा कम छ ।

नेपालमा रोजगारीका लागि आएका विदेशी कामदारले आफ्नो यहाँ बुझेको पारिश्रमिक आफ्नो मुलुकमा रेमिट्यान्स पठाएका हुन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार हालसम्म २२ हजार चार सय ३९ जना विदेशी कामदारले श्रम इजाजत लिएका छन् । नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन पाउने व्यवस्था छ । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान छ ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी, जलविद्युत् आयोजना, बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । विशेष गरी विदेशी लगानीका कम्पनी, आयोजना, बैंक, बिमा कम्पनीमा विदेशी कर्मचारीको संख्या बढी छ । जलविद्युत् तथा पूर्वाधार आयोजनामा विदेशबाट प्राविधिक कामदार बढी आउने गर्छन् । उनीहरूले नेपालमा कमाउने पैसा रेमिट्यान्समार्फत आफ्नो देश पठाउने गर्छन् ।

अहिले डाबर नेपाल, युनिलिभर नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंक, मेट लाइफ इन्स्योरेन्स, नेसनल इन्स्योरेन्स, एलआइसी नेपाल, दी ओरियन्टल इन्स्योरेन्स, हिमालयन रि–इन्स्योरेन्सजस्ता कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् । यसैगरी, नागढुंगा सुरुङमार्गमा जापानिज, सिद्धबाबा सुरुङमा पनि चिनियाँ, दुई सय १६ मेगावाटको त्रिशूली जलविद्युत्मा कोरियाबाट कर्मचारी ल्याइएको छ । यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, नेपालमा विभिन्न कम्पनी तथा परियोजनामा विदेशी कामदार छन् ।

विदेशी लगानीका कम्पनी तथा परियोजनाले आफ्नै कर्मचारी ल्याएर पनि आउँछन् । स्वदेशी कम्पनीले भने नेपालमा उपलब्ध नहुने सिप क्षमताका कर्मचारी विदेशबाट ल्याउने गर्छन् । यद्यपि, राष्ट्र बैंकको यस तथ्यांकमा अनौपचारिक माध्यमबाट जाने रेमिट्यान्स भने समावेश छैन । नेपालमा थुप्रै भारतीय नागरिक आएर श्रम इजाजत नलिई अनौपचारिक क्षेत्रमा काम गर्दै आएका छन् । उनीहरूले कमाएको पैसा भने औपचारिक रूपमा लैजान पाउँदैनन् ।

उनीहरूले कमाएको पैसा सीमा क्षेत्रमा सटही गरेर नगद नै आफ्नो देश लैजाने गर्छन्, जुन तथ्यांक यसमा समावेश छैन । साथै, त्यसबापत कति रकम जान्छ भनेर कुनै अध्ययन पनि छैन । यद्यपि, अमेरिकाको पिउ रिसर्च सेन्टरले सन् २०१७ मा विश्वमा रेमिट्यान्स आप्रवाहबारे एक अध्ययन गरेको थियो । सो अध्ययनले भारतबाट करिब एक अर्ब अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिने देखाएको थियो । त्यस्तै, नेपालबाट भने तीन अर्ब अमेरिकी डलर रेमिट्यान्स भारत जाने प्रतिवेदनमा उल्लेख थियो ।

राष्ट्र बैंकको आँकडाअनुसार पछिल्लो साढे पाँच वर्षमा नेपालबाट ४४ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । आव ०७७÷७८ मा ६ अर्ब एक करोड ८५ लाख रुपैयाँ, आव ०७८÷७९ मा सात अर्ब ६७ करोड ९१ लाख रुपैयाँ, आव ०७९÷८० मा ६ अर्ब ६१ करोड २८ लाख रुपैयाँ, आव ०८०÷८१ मा ६ अर्ब ६ करोड दुई लाख रुपैयाँ र गत आव ११ अर्ब १७ करोड २३ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ । गत आवमा बाहिरिएको रेमिट्यान्स हालसम्मकै उच्च हो । चालू आवको ६ महिनामा भने ६ अर्ब ९८ करोड २६ लाख रुपैयाँ रेमिट्यान्स बाहिरिएको छ ।


नेपाल भित्रियो १० खर्ब ६२ अर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । समीक्षा महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १९२ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १२२ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ११६८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८३३ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो । सेवा खाता अन्तर्गत भ्रमण आयमा पनि सामान्य वृद्धि भएको छ । समीक्षा अवधिमा भ्रमण आय ०.८ प्रतिशतले वृद्धि भई ४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४१ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

विप्रेषणको आप्रवाह बढ्दा यसले मुलुकको बाह्य क्षेत्र सन्तुलनमा महत्त्वपूर्ण योगदान पु¥याएको छ । विशेषगरी चालु खाता र शोधनान्तर स्थिति बचतमा राख्न विप्रेषणको भूमिका उल्लेख्य रहेको तथ्याङ्कले देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालनमा पनि विप्रेषणको प्रभाव परेको छ ।

के हो रेमिट्यान्स ?
विदेशमा रोजगारी, अध्ययन वा व्यवसायका कारण बसोबास गर्ने नेपाली तथा अन्य आप्रवासीहरूले आफ्नो देशमा रहेका परिवारजनलाई पठाउने रकमलाई रेमिट्यान्स भनिन्छ। यो रकम केवल व्यक्तिगत सहयोगमा सीमित नरही लाखौँ परिवारको दैनिक जीवनयापन, शिक्षा, स्वास्थ्य सेवा तथा आपतकालीन आवश्यकताको मुख्य आधार बनेको छ। रेमिट्यान्सले धेरै विकासोन्मुख देशहरूको अर्थतन्त्रलाई मजबुत बनाउँदै आएको छ।

रेमिट्यान्स मुख्यतः दुई प्रकारका हुन्छन् । विदेशबाट आफ्नो देशमा पैसा भित्रिनुलाई आन्तरिक (क्ष्लधबचम) रेमिट्यान्स भनिन्छ, जसले विदेशी मुद्रा आर्जनमा योगदान पु¥याउँछ। त्यसैगरी, आफ्नो देशबाट विदेश पैसा पठाउने प्रक्रियालाई बाह्य (इगतधबचम) रेमिट्यान्स भनिन्छ, जुन परिवार सहयोग, शिक्षा शुल्क, उपचार खर्च वा वैदेशिक लगानीका लागि प्रयोग गरिन्छ । रेमिट्यान्सको प्रत्यक्ष फाइदा परिवार र व्यक्तिलाई पुग्छ भने अप्रत्यक्ष रूपमा समुदाय र समग्र अर्थतन्त्र लाभान्वित हुन्छन्। धेरै ग्रामीण तथा शहरी क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सामुदायिक पूर्वाधार निर्माणमा रेमिट्यान्सको महत्वपूर्ण भूमिका रहेको पाइन्छ। कतिपय देशहरूमा रेमिट्यान्स कुल गार्हस्थ उत्पादनको ठूलो हिस्सा बनेको छ।

पैसा पठाउन आजभोलि विभिन्न माध्यम उपलब्ध छन्। डिजिटल मनी ट्रान्सफर सेवा, बैंक तथा वित्तीय संस्था, वायर ट्रान्सफर, मनी अर्डर, चेक, प्रिपेड कार्ड तथा इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (भ्ँत्) जस्ता विकल्प प्रयोग गर्न सकिन्छ। यीमध्ये डिजिटल प्लेटफर्महरू छिटो, सुरक्षित र तुलनात्मक रूपमा कम खर्चिला मानिन्छन्। रेमिट्यान्स पठाउँदा सेवा प्रदायकअनुसार शुल्क फरक–फरक हुन्छ। बैंकमार्फत पठाउँदा शुल्क सामान्यतया महँगो हुने गरेको छ भने मनी ट्रान्सफर कम्पनी तथा अनलाइन सेवामा कम शुल्क लाग्ने गर्दछ। त्यसैले पैसा पठाउनु अघि शुल्क, विनिमय दर र समयको तुलना गर्नु आवश्यक हुन्छ ।

कति सम्म पठाउन पाईन्छ ?

सामान्यतया व्यक्तिगत खाताबाट दैनिक ५० हजार अमेरिकी डलरसम्म, व्यवसायिक खाताबाट १ लाख डलरसम्म रेमिट्यान्स पठाउन सकिन्छ । आवश्यक कागजातमा परिचयपत्र, प्राप्तकर्ताको बैंक विवरण र रकमको स्रोतसम्बन्धी जानकारी समावेश हुन्छ ।

समग्रमा भन्नुपर्दा, रेमिट्यान्सले परिवारको आर्थिक सुरक्षासँगै राष्ट्रको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ। सही सेवा र माध्यम छनोट गरेमा कम खर्चमा सुरक्षित र छिटो रूपमा अमेरिकालगायत अन्य देशमा पैसा पठाउन सकिन्छ ।

1

Scroll to Top