Banijya News

विशेष आर्थिक क्षेत्रको भाडामा भारी कटौती, अन्य प्रगति के–के ?

1
1.2K Shares

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्रको भाडदारमा भारी कटौती गरेको छ । उत्पादनमूलक क्षेत्रलाई जोड दिने विशेष आर्थिक क्षेत्रको मासिक भाडदारमा ७५ प्रतिशतले कटौती गर्दै प्रति वर्ग मिटर २० रुपैयाँबाट ५ रुपैयाँ कायम गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा केही महत्त्वपूर्ण उपलब्धि र भावी योजनाहरू पनि सार्वजनिक गरेको छ । सरकारले उद्योगी र व्यवसायीहरूलाई प्रोत्साहन गर्न नीतिगत सुधार र राहतका कार्यक्रमहरूलाई समेत प्राथमिकता दिएको छ । यस कदमले निर्यातमुखी उद्योगहरूको लागत घट्ने र लगानीकर्ताहरू आकर्षित हुने अपेक्षा छ ।

यसै गरी, गत भदौ २३ र २४ मा भएको असहज परिस्थितिका कारण प्रभावित भएका उद्योग र व्यवसायहरूलाई पुनर्जीवन दिन ’एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ । यस योजना अन्तर्गत प्रभावित व्यवसायीहरूले कर छुट र विभिन्न वित्तीय सहुलियतहरू प्राप्त गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम प्रवर्द्धन, लगानी सहजीकरण र औद्योगिक वातावरण सुधारमा केन्द्रित कार्यक्रम अघि बढाएको छ । स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार र मूल्य शृङ्खलामा आबद्ध गराउने उद्देश्यसहित सहुलियतपूर्ण कर्जा कार्यक्रम कार्यान्वयनको मूल्याङ्कन चरणमा पुगेको छ । मन्त्रालयले विदेशी लगानीलाई स्वचालित प्रणालीमार्फत स्वीकृति, विशेष आर्थिक क्षेत्रको भाडा दर प्रतिवर्ग मिटर रु. २० बाट घटाई रु. ५, तथा पेट्रोलमा वायो–इथानोल मिश्रणको व्यवस्था जस्ता निर्णय सार्वजनिक गरेको छ ।

समीक्षा अवधिमा कुल ८९ अर्ब ४० करोड ६० लाख विनियोजन भएकोमा ८.५० प्रतिशत अर्थात् ७ अर्ब ५९ करोड ६० लाख रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले पुँजीगत खर्चको गतिलाई बढाउन र नीतिगत अवरोधहरू हटाउन आगामी छ महिनामा विशेष सक्रियता देखाउने बताएको छ । व्यापार सहजीकरण र पूर्वाधार विकासतर्फ विशेष आर्थिक क्षेत्रलाई निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न ६.८ अर्ब रुपैयाँको समझदारी पत्रमा हस्ताक्षर भएको छ । साथै, पेट्रोलियम पदार्थको आयातमा हुने परनिर्भरता घटाउन र विदेशी मुद्रा बचाउनका लागि पेट्रोलमा बायोइथानोल मिश्रण गर्ने कार्यलाई अगाडि बढाइएको छ ।

६५ अर्बभन्दा बढीको विकास सहायता प्रतिबद्धता

चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले विभिन्न विकास साझेदारहरूबाट कुल ६५ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ बराबरको विकास सहायता प्रतिबद्धता प्राप्त गरेको छ। अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका अनुसार यस अवधिमा १६ वटा विभिन्न आयोजना तथा कार्यक्रमका लागि उक्त रकम प्राप्त भएको हो।

प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधारको क्षेत्रले ओगटेको छ। कुल प्रतिबद्धताको ५२.५४ प्रतिशत अर्थात् ३४ अर्ब ३६ करोड रुपैयाँ पूर्वाधार क्षेत्रका दुईवटा ठूला आयोजनाका लागि प्राप्त भएको छ।

पूर्वाधार पछि दोस्रो ठूलो प्रतिबद्धता बजेटरी सहायतामा प्राप्त भएको छ। एउटै ठूलो प्याकेजमार्फत १४ अर्ब ३८ करोड रुपैयाँ (२१.९९ प्रतिशत) बजेटरी सहायता प्राप्त भएको छ, जसले सरकारलाई आफ्ना प्राथमिकता प्राप्त योजनाहरूमा स्रोत परिचालन गर्न लचकता प्रदान गर्नेछ। यस्तै, जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र अनुकूलनका लागि ५ वटा आयोजनामार्फत ७ अर्ब १९ करोड ३२ लाख रुपैयाँ (११ प्रतिशत) प्रतिबद्धता प्राप्त भएको छ, जुन नेपालको हरित विकास लक्ष्यका लागि महत्वपूर्ण मानिएको छ।

प्रतिवेदन अनुसार सामाजिक क्षेत्रका ५ वटा आयोजनाका लागि ३ अर्ब ६४ करोड १९ लाख रुपैयाँ प्रतिबद्धता प्राप्त भएको छ। ऊर्जा क्षेत्रको एउटा आयोजनाका लागि ३ अर्ब ३१ करोड ९० लाख रुपैयाँ सुनिश्चित भएको छ भने आर्थिक क्षेत्रमा १ अर्ब ४० करोड र कृषि क्षेत्रमा १ अर्ब ९ करोड ९४ लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ।

आपूर्ति व्यवस्थापन र निर्यात प्रवर्द्धन
कृषि क्षेत्रमा खाद्य सुरक्षा, मल आपूर्ति र कृषक संरक्षणलाई प्राथमिकता दिइएको छ । उखुको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु. ६२० र थप अनुदान रु. ७० तोकिएको छ । समीक्षा अवधिसम्म ४ लाख ६६ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढाइएकोमा २ लाख ४३ हजार मेट्रिक टन वितरण भइसकेको छ । यस्तै दुग्ध उत्पादक कृषकको रु. ८१ करोड बक्यौता भुक्तानी हुनु सकारात्मक उपलब्धि मानिएको छ । त्यस्तै, पशुजन्य उत्पादनको निर्यात विस्तारका लागि खोरेत रोगमुक्त क्षेत्र घोषणा, विषादी अवशेष परीक्षणको सुरुवात र नेपालगन्ज नाकाबाट सल्लाको आखला निर्यात गर्ने निर्णय समेत भएका छन् ।

दुर्गममा खाद्यान्न र नुन ढुवानी तीव्र

सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रका लक्षित कार्यक्रमहरूमा सन्तोषजनक प्रगति भएको जनाएको छ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार दुर्गम जिल्लाहरूमा अत्यावश्यक वस्तुको आपूर्तिलाई सरकारले प्राथमिकतामा राखेको छ । तथ्याङ्क अनुसार तोकिएका दुर्गम जिल्लाहरूमा ७ हजार एक सय ६.१ मेट्रिक टन खाद्यान्न ढुवानी भएको छ । आयोडिनयुक्त नुन दुर्गम क्षेत्रका नागरिकका लागि ४८ हजार ९ सय ८७.०४ क्विन्टल आयोडिनयुक्त नुन ढुवानी गरी वितरण गरिएको छ । मुलुकको खाद्य सुरक्षालाई सुदृढ बनाउन राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा २३ हजार ९ सय ५४ मेट्रिक टन खाद्यान्न मौज्दात राखिएको छ । यसै गरी, क्षेत्रीय सहयोग अन्तर्गत सार्क खाद्य बैङ्कमा नेपालको तर्फबाट ८ हजार मेट्रिक टन खाद्यान्न मौज्दात सुनिश्चित गरिएको छ ।

मन्त्रालयको प्रगति विवरण अनुसार, चालु आर्थिक वर्षको पहिलो छ महिनामा ठुला, मझौला, साना, लघु र घरेलु उद्योगहरू मार्फत कुल ३२ हजार ६ सय २० जनाका लागि रोजगारी सिर्जना भएको छ । सरकारले उद्यमशीलता विकास र ’स्टार्टअप’ प्रोत्साहनका लागि ल्याएका विभिन्न कार्यविधिहरूका कारण औद्योगिक क्षेत्रमा रोजगारीका अवसर बढेको प्रतिवेदनमा उल्लेख छ ।

वन व्यवस्थापनबाट हरित अर्थतन्त्रको मार्गमा नेपाल
चालु आर्थिक वर्षमा वन क्षेत्रको दिगो व्यवस्थापनका लागि महत्त्वपूर्ण नीतिगत सुधारहरू गरिएका छन् । सरकारले ’वन नियमावली, २०७९’ मा तेस्रो संशोधन गरी कार्यान्वयनमा ल्याएको छ भने जलवायु परिवर्तनको विश्वव्यापी लाभ लिनका लागि ’कार्बन व्यापार नियमावली, २०८२’ जारी गरिएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा कार्बन उत्सर्जन कटौती बापतको रकम प्राप्त गर्ने बाटो खुलेको छ । सन् २०१५ को पेरिस सम्झौताको मर्म अनुरूप मन्त्रालयले न्यून कार्बनमुखी र हरित अर्थतन्त्रमुखी रणनीतिलाई प्राथमिकतामा राखेको छ।

वातावरणीय स्वच्छता कायम राख्न मन्त्रालयले यस अवधिमा उद्योग र नदीनालाबाट निस्कने फोहोर पानीका ४८ वटा नमुना सङ्कलन र विश्लेषण सम्पन्न गरेको छ। साथै, २२४ वटा नमुनाहरूको प्रयोगशाला परीक्षण र प्रमाणीकरण गरी व्यापार सहायता मा सहयोग पु¥याइएको छ। सूचना व्यवस्थापनलाई सुदृढ बनाउन मुलुकका ७५३ वटै स्थानीय तहमा रहेका वनका प्रमुख प्रकारहरू पहिचान गरी सोको विवरण प्रकाशन गरिएको छ । वन क्षेत्रलाई केवल संरक्षणमा मात्र सीमित नराखी यसलाई समुदायमा आधारित व्यवस्थापनमार्फत गरिब, महिला, दलित र उपेक्षित वर्गको उत्थानमा जोडिएको छ । सामुदायिक वनका माध्यमबाट गाउँ स्तरसम्म सुशासनको प्रत्याभूति दिँदै सामाजिक र आर्थिक रूपमा समावेशी दृष्टिकोणलाई आत्मसात् गरिएको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक अवधिसम्मको वित्तीय अवस्था हेर्दा, मन्त्रालयका लागि विनियोजित कुल १ अर्ब २० करोड ३८ लाख ८० हजार रुपैयाँमध्ये २९.८९ प्रतिशत अर्थात् ३५ करोड ९८ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । यस अवधिमा चाल खर्च ४२.३२ प्रतिशत रहेको छ भने पुँजीगत खर्च २.६३ प्रतिशतमा सीमित देखिएको छ ।


धितो पत्र बजारमा २ सय ८४ कम्पनी दर्ता
यता धितो पत्र बजारमा कम्पनीहरूको दर्ता सङ्ख्या २ सय ८४ पुगेको छ । २०८१ पुस मसान्तमा धितो पत्र बजारमा सूचीकृत भएका कम्पनीहरूको सङ्ख्या २६७ रहेकोमा २०८२ पुस मसान्तमा २ सय ८४ पुगेको हो । समीक्षा अवधिमा रू.४८ अर्ब ४४ करोड मूल्य बराबरका थप धितो पत्र सूचीकृत भएका छन् । २०८१ पुस मसान्तमा २५९४.१३ रहेको नेप्से सूचकाङ्क २०८२ पुस मसान्तमा २६४१.४४ कायम भएको छ । २०८२ पुस मसान्तमा बजार पुँजीकरण रू.४४ खर्ब ३५ अर्ब रहेको छ ।

1

Scroll to Top