राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का सम्झौता तोड्ने सरकारको निर्णयले अहिले कानुनी मोड लिएको छ। आयोजनाको महत्त्वपूर्ण सिभिल संरचना निर्माणको जिम्मेवारी पाएको पटेल-रमण जेभीले सरकारको उक्त निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेपछि यो विषय थप पेचिलो बनेको हो ।
ऊर्जमन्त्री कुलमान घिसिङको नेतृत्वमा सुस्त गतिमा रहेका र रुग्ण आयोजनाहरूको ठेक्का तोड्ने अभियान सुरु भएसँगै यस आयोजनाको भविष्यलाई लिएर नयाँ बहस सुरु भएको छ । सरकारले कामको प्रगति सन्तोषजनक नभएको र तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न हुने छाँटकाँट नदेखेपछि ठेक्का रद्द गर्ने कडा कदम चालेको थियो। यो निर्णयसँगै निर्माण कम्पनीले कार्यसम्पादन जमानत (पर्फमेन्स ग्यारेन्टी) वापत राखेको २ अर्ब ४० करोड रुपैयाँ र अग्रिम भुक्तानी ९पेस्की० स्वरूप लिएको १ अर्ब २० करोड रुपैयाँ गरी कुल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी जफत गर्ने प्रक्रिया समेत अघि बढेको छ ।
यही प्रक्रिया रोक्न र ठेक्का कायम राख्न माग गर्दै निर्माण व्यवसायी अदालत पुगेका हुन्। यस विवादको पृष्ठभूमि हेर्दा, पटेल–रमण जेभीले २०७९ पुस १७ गते ५५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा यस आयोजनाको ठेक्का हात पारेको थियो । २०७९ माघ ११ गतेदेखि औपचारिक रूपमा काम सुरु भएको यस आयोजनालाई मधेस प्रदेशको सिँचाइ र देशको ऊर्जा संकट समाधानका लागि रूपान्तरणकारी आयोजना मानिएको छ । तर, सम्झौता भएको ३३ महिना बितिसक्दा पनि स्थायी संरचना निर्माणको भौतिक प्रगति जम्मा १ प्रतिशतमा खुम्चिएपछि आयोजना व्यवस्थापन र मन्त्रालयले ठेक्का तोड्नुको विकल्प नदेखिएको बताएको छ ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा ऊर्जा मन्त्रीका रूपमा कुलमान घिसिङ आएपछि सरकारी संयन्त्रले काम नगर्ने ठेकेदारप्रति शून्य सहनशीलताको नीति अख्तियार गरेको देखिन्छ । मन्त्रालयले राष्ट्रिय गौरवका आयोजनाहरूमा वर्षौँसम्म काम ओगटेर बस्ने प्रवृत्तिले राज्यलाई ठुलो आर्थिक भार परेको ठहर गर्दै यसअघि पनि विभिन्न रुग्ण आयोजनाहरूको ठेक्का रद्द गरिसकेको छ। सुनकोशी–मरिण डाइभर्सनमा पनि ठुलो लगानी र जनअपेक्षा जोडिएकाले काममा भएको ढिलाइलाई सरकारले गम्भीर रूपमा लिएको हो ।
सर्वोच्च अदालतमा दायर गरिएको रिटमा न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। निर्माण व्यवसायीले भने विभिन्न प्राविधिक समस्या र सरकारी समन्वयको अभावका कारण काममा ढिलाइ भएको हो । यद्यपि, ३३ महिनामा १ प्रतिशत मात्र प्रगति हुनुलाई आयोजनाले ठुलो असफलता मानेको छ । अब अदालतको फैसलाले यो आयोजना नयाँ ठेक्का प्रक्रियामा जाने कि पुरानै व्यवसायीले निरन्तरता पाउने भन्ने कुराको टुङ्गो लगाउनेछ।
यो कानुनी लडाइँले आयोजनाको थप समय लम्बिने जोखिम त बढाएको छ , साथै यसले नेपालको निर्माण क्षेत्रमा हुने ुठेक्का ओगट्ने तर काम नगर्नेु प्रवृत्तिमाथि राज्यले कस्तो नीति लिन्छ भन्ने नजिर समेत स्थापित गर्ने अपेक्षा गरिएको छ । मधेसका हजारौँ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य राखिएको यो आयोजनाको ढिलाइले समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पुर्याइरहेको छ।


