Banijya News

मतदानका बेला बाजुरामा ड्रोनबाट सुरक्षा अनुगमन

1
1.1K Shares

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा यस पटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ । निर्वाचनका बेला झडप, बुथ कब्जा र हिंसात्मक घटनाहरू हुँदै आएको यो जिल्लामा यस पटक भने विशेष सावधानी अपाउन लागिएको छ ।

स्थानीय प्रशासनले यस पटक बाजुरालाई उच्च सुरक्षा सतर्कतामा राखेको छ । विगतका कमजोरीहरूबाट पाठ सिक्दै सुरक्षा निकायले जनशक्ति बढाउनुका साथै आधुनिक प्रविधि प्रयोग गरेर मतदानस्थलको निगरानी गर्ने रणनीति तयार पारेको छ । बाजुरामा २०४८ साल यताका अधिकांश निर्वाचनमा कुनै न कुनै रूपमा अशान्ति हुँदै आएको छ । विशेषगरी दलहरूको पकड क्षेत्रका आधारमा मतदान केन्द्रहरू नै कब्जा हुने, विपक्षी दलका मतदातालाई बुथसम्म जान नदिने र कर्मचारीहरूकै अगाडि फर्जी मत खसाल्ने प्रवृत्ति यहाँको मुख्य सुरक्षा चुनौती हो ।

निर्वाचनमा खटिएका कर्मचारीहरूका अनुसार विगतमा आँखा अगाडि धाँधली हुँदा पनि सुरक्षाकर्मी र कर्मचारी निरीह बन्नुपर्ने बाध्यता थियो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बाजुरामा दुई जना युवाको मृत्यु भएको थियो । बाजुराको छिमेकी जिल्ला बझाङमा पनि फर्जी मत खसाल्ने प्रवृत्ति देखिने गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार यसपटक पहाडी जिल्लाहरूमा हुने अराजकता रोक्न विशेष सुरक्षा योजना लागु गरिएको छ ।

‘विगतमा जस्तो बुथ कब्जा गर्ने वा हुलहुज्जत गर्ने सोच कसैले बनाएको छ भने त्यो पूरा हुने छैन । यसपटक हामी प्रविधिको अधिकतम प्रयोग गर्दैछौँ,’ उनले भने । सुरक्षा योजना अनुसार संवेदनशील मानिएका मतदान स्थलहरूमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । यसले मतदान केन्द्रमा को आयो, कसले के गतिविधि गरिरहेको छ भन्ने कुराको प्रत्यक्ष निगरानी जिल्ला र प्रदेशस्तरबाटै भइरहनेछ । त्यस्तै, भौगोलिक रूपमा विकट र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएका क्षेत्रहरूमा आकाशबाट ड्रोन क्यामराले गस्ती गर्ने व्यवस्था मिलाइएको छ ।

ड्रोन र सीसीटीभीको फुटेजका आधारमा कुनै पनि शंकास्पद गतिविधि देखिनासाथ तत्काल नियन्त्रणमा लिन सकिने गरी सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । आवश्यक परेको खण्डमा तत्काल थप मद्दत पु¥याउन हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ । जिल्ला मुख्य निर्वाचन अधिकृत संजिव पोखरेलका अनुसार बाजुरामा यसपटक ७७ मतदान स्थल र ११९ मतदान केन्द्र एक अस्थायीसहित निर्धारण गरिएको छ ।

कुल ७७ मतदान स्थलमध्ये ६२ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । यसको अर्थ जिल्लाका करिब ८० प्रतिशत मतदान स्थलहरूमा सुरक्षा जोखिम उच्च छ । यही जोखिमलाई विश्लेषण गरेर जिल्ला प्रशासन कार्यालय बाजुराले सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराएको छ ।

बाजुरामा मात्र नभई सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदेशका नौवटै जिल्लामा एकीकृत सुरक्षा योजना लागु गरिएको छ । डीआईजी रानाका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी कुल ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा ७ हजारभन्दा बढी नेपाल प्रहरी र १३ हजार ५ सय निर्वाचन प्रहरी प्रत्यक्ष फिल्डमा खटिएका छन् ।

निर्वाचनको मुखमा गृहमन्त्री ओमप्रकाश अर्यालले सुदूरपश्चिमका जिल्लाहरूको सुरक्षा अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन् । आइतबार र सोमबार धनगढी लगायतका क्षेत्रमा सुरक्षा अधिकारीहरूसँग छलफल गर्दै मन्त्री अर्यालले निर्वाचन विरोधी गतिविधि गर्नेलाई छुट नदिन निर्देशन दिएका छन् ।

1

Scroll to Top