Banijya News

चुनावमा पत्तासाफ भए यी उद्योगी–व्यवसायी !

1
1.2K Shares

प्रतिनिधिसभा निर्वाचनमा यसपटक विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बनेका धेरै उद्योगी तथा व्यवसायीहरू पराजित भएका छन्। आर्थिक क्षेत्रमा प्रभावशाली मानिएका यी व्यक्तिहरू मतदाताको विश्वास जित्न असफल हुँदा चुनावी मैदानमा उनीहरूको उपस्थिति कमजोर देखिएको छ। निर्वाचनमा उद्योग र व्यवसाय क्षेत्रमा पहिचान बनाएका दर्जनौँ व्यक्तिहरू प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। तर अधिकांशले मतदाताको समर्थन प्राप्त गर्न सकेनन्।

नेपालका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका चौधरी यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम खनालसँग ३५ हजारभन्दा बढी मतान्तरले पराजित भए। खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५ सय २ मत मात्रै पाए।

त्यस्तै धादिङ क्षेत्र नम्बर २ मा कांग्रेसका पर्यटन व्यवसायी रमेशप्रसाद धमला उम्मेदवार बनेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका बोधनारायण श्रेष्ठसँग पराजित भए। श्रेष्ठले २६ हजार १ सय ४३ मत ल्याएर विजयी हुँदा धमलाले २० हजार २ सय ७७ मत प्राप्त गरे। रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार तथा व्यवसायी चुन्नप्रसाद शर्मा पौडेल पनि पराजित भए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले ५६ हजार ५ सय ५० मत ल्याएर विजयी हुँदा पौडेलले ९ हजार ३ सय ९२ मत मात्रै प्राप्त गरे।

यसैगरी पर्सा क्षेत्र नम्बर १ मा उद्योगी अनिलकुमार रुँगटा, झापा क्षेत्र नम्बर ३ मा व्यवसायी राजेन्द्र घिमिरे, धादिङ क्षेत्र नम्बर १ मा पर्यटन व्यवसायी कृष्ण रिजाल र काठमाडौं क्षेत्र नम्बर ८ मा व्यवसायी सुमन सायमी पनि पराजित भएका छन्। यस्तै पठाओका सञ्चालक असिममानसिंह बस्न्यातले काठमाडौं क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर उनले जम्मा ५० मत मात्रै प्राप्त गरे। यसपटकको निर्वाचन परिणामले आर्थिक रूपमा शक्तिशाली मानिएका उद्योगी–व्यवसायीहरूलाई पनि मतदाताले सहज रूपमा स्वीकार नगर्ने प्रवृत्ति देखिएको छ।

1

Scroll to Top