प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि मतदान सम्पन्न भइसकेपछि अब ११० समानुपातिक सिट कसरी बाँडफाँट हुन्छ भन्ने चासो बढेको छ। समानुपातिक प्रणालीमा दलहरूले प्राप्त गरेको मतको अनुपातका आधारमा विशेष गणितीय सूत्र प्रयोग गरी सिट निर्धारण गरिन्छ।
समानुपातिक सिट गणनामा सहभागी हुन कुनै पनि दलले कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलहरू सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैनन्।
तीन प्रतिशतको सीमा पार गरेका दलहरूको कुल मतलाई आधार मानेर ११० सिट बाँडफाँट गरिन्छ। यसका लागि दलले प्राप्त गरेको मतलाई योग्य दलहरूको कुल मतले भाग गरेर प्राप्त प्रतिशतलाई ११० सिटसँग गुणा गरिन्छ। यसरी प्राप्त नतिजाका आधारमा दलहरूले सिट पाउने गर्छन्। उदाहरणका लागि कुनै दलले योग्य मतको ३० प्रतिशत मत प्राप्त गरेको अवस्थामा उक्त दलले करिब ३३ सिट पाउने सम्भावना हुन्छ। त्यस्तै २० प्रतिशत मत पाएको दलले करिब २२ सिट पाउन सक्छ। गणनापछि बाँकी रहेका दशमलव सिटहरू भने सबैभन्दा बढी बाँकी मत प्रतिशत भएका दललाई दिइने प्रचलन छ।
समानुपातिक प्रणालीबाट प्राप्त सिटमा दलहरूले निर्वाचनअघि बुझाएको बन्द सूचीका आधारमा प्रतिनिधि चयन गर्छन्। तर प्रतिनिधि चयन गर्दा संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तअनुसार महिला, दलित, जनजाति, मधेसी, खस–आर्य, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने हुन्छ। निर्वाचन परिणामको अन्तिम मतगणना सार्वजनिक भएपछि सम्बन्धित दलले प्राप्त मतको अनुपातका आधारमा सिट बाँडफाँट प्रक्रिया पूरा गरी प्रतिनिधिसभामा समानुपातिक सांसदको नाम सिफारिस गरिने व्यवस्था रहेको छ।


