राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा आदिवासी जनजाति क्लस्टरबाट समावेश भएका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सांसद पदमा नपरेकोमा आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन्। उनले फेसबुकमा लेख्दै भनेका छन्, “मैले क्रिकेटबाट सिकेको कुरा के हो भने, टिमको हिस्सा म रहूँ वा नगरूँ, तर मेरो देशले हार्नु हुँदैन।”
रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ, जसमा महिला सदस्यहरू ४८ हुनुपर्ने भएकाले पुरुषतर्फ मात्र सातजना छनोट भएका छन्। यस कारण ज्ञानेन्द्रको नाम सूचीमा समावेश हुन सकेन। उनले थप लेखेका छन्, “म सदनमा रहूँ वा सडकमा, जहाबाट पनि देशको सेवामा लागिरहनेछु। किनभने अन्ततः व्यक्तिगत हारजितभन्दा पनि देशको जित नै सबैभन्दा महत्वपूर्ण हुन्छ।”
ज्ञानेन्द्रले क्रिकेट खेलमा पनि व्यक्तिगत प्रदर्शनभन्दा टिमको जितलाई प्राथमिकता दिइने उदाहरण दिंदै सांसदको भूमिकासँग तुलना गरेका छन्। उनले भने, “खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकढिक्का भएर काम गर्नेछन् भन्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना दिन्छु।”
ज्ञानेन्द्र मल्लले समानुपातिक सूचीमा परेपछि ट्वान्टी–२० विश्वकप २०२६ अगाडि राष्ट्रिय टोलीको सहायक प्रशिक्षक पदबाट राजीनामा दिएका थिए र त्यसपछि देशका विभिन्न स्थानमा चुनाव प्रचारमा सक्रिय भएका थिए।


