बैंकिङ प्रणालीमा लामो समयदेखि अधिक तरलता रहेको छ, तर अपेक्षा अनुसार कर्जा प्रवाह भने सुस्त छ। ब्याजदर लगातार घटे पनि कर्जा वितरणमा गति आउन सकेको छैन। यसै कारण, केन्द्रीय बैंकले बारम्बार तरलता व्यवस्थापनका लागि प्रणालीबाट पैसा तान्दै आएको छ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी विस्तार गर्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता संचय भएको छ। यस तरलता व्यवस्थापनका लागि आज केन्द्रीय बैंकले थप ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। विगत तीन वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूमा तरलता लगातार जम्दै आएको हो।
पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । गत आइतबार मात्रै केन्द्रीय बैंकले प्रणालीबाट १४ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न चाहेकोमा बैंकहरुले २७ अर्ब ८० करोड जम्मा गरेका थिए । जसको औसत ब्याजदर २.७३ प्रतिशत कायम भएको थियो ।
नेपाल राष्ट्र बैंकले आज पुनः ४० अर्ब खिच्ने भएको छ । राष्ट्र बैंकले २१ दिनको सो रकम संकलन गर्न लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने २०८३ वैशाख २ गते साँवा तथा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ । यसअधि संकलन गरेको ३० अर्ब निक्षेप आजै परिपक्क हुँदैछ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको छ। निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।
हालसम्म राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत खिचेको ५ खर्ब ५२ अर्ब ५० करोड केन्द्रीय बैंकमा जम्मा रहेको छ । त्यस्तै, स्थायी निक्षेप सुविधामा बैंकहरुले १ खर्ब ४९ अर्ब ६० करोड जम्मा गरेका छन् । त्यस्तै ऋणपत्र मार्फत संकलन गरेको २ खर्ब रुपैयाँ पनि राष्ट्र बैंकमा रहेको छ । हालसम्म बैंकहरुले लगानी गर्न नसकेको ९ खर्ब २ अर्ब १० करोड राष्ट्र बैंकमा जम्मा भएको छ ।


