Banijya News

कम्बोडियाबाट ५१ जना नेपालीको उद्धार

1
1.1K Shares

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ५१ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काएको छ । कम्बोडियामा अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएका र बिनाभिसा बसिरहेका उनीहरूलाई दूतावासले उद्धार गरी बुधबार नेपाल फर्काएको हो । उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका थिए । कम्बोडियामा अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनोमा अनलाइन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा उनीहरूलाई लगाइएको थियो ।

उनीहरूलाई कम्बोडियाको सरकारको सहयोग र गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा दूतावासले नेपाल फर्काएको हो । “चैत्र १० गते कम्बोडियाबाट उडेर चैत्र ११ गते नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी नेपाल फर्काइएको छ । यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भईरहेको छ,” बैंककस्थित नेपाली दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्बोडियामा नेपालीहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको पनि दूतावासले जनाएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जनाएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली दूतावास बैंककले उद्दार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान दूतावासले अनुरोध गरेको छ । कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन पनि दूतावासले भनेको छ ।

1

Scroll to Top