पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका बालेन्द्र शाहलाई सफल कार्यकालको शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत भट्टराईले नेपाली इतिहासकै कान्छा तथा मधेसीमूलका पहिलो प्रधानमन्त्रीका रूपमा बालेनले ऐतिहासिक जिम्मेवारी सम्हाल्न लागेको उल्लेख गरेका छन् ।
भू–राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्न आग्रह गरेका छन् । “आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ–राजनीति र बाह्य रूपमा तीव्र गतिले बद्लिदै गएको भू–राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्थापन गर्दै देश र जनताका २१औँ शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्,” भट्टराईले भनेका छन् ।
उनले अब समयानुकूल डिजिटल प्रविधि र एआईमैत्री युवापुस्ताको नेतृत्वमा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गर्नुपर्ने धारणा राखेका छन् ।


