राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनले आज दिउँसो १२ः३४ मा शपथ लिने समय तय भएको छ । शाहसँगै आजै नयाँ मन्त्रीहरूले पनि शपथ लिने छन् । स्रोतका अनुसार रास्वपाले अमरेश सिंहलाई उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री बनाइने भएको छ । त्यस्तै स्वर्णिम वाग्लेलाई अर्थ, शिशिर खनाललाई परराष्ट्र र सुदन गुरुङलाई गृहमन्त्री बनाउने पक्का भएको छ ।
त्यस्तै, मन्त्रीमण्डलमा प्रतिभा रावललाई सामान्य प्रशासन, गणेश पौडेललाई पर्यटन र सुनिल लम्शालले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी तयारी पूरा भएको स्रोतले बताएको छ । त्यसैगरी, कानूनमा सोभिता गौतम, उर्जा मन्त्री विराजभक्त श्रेष्ठ, विक्रम तिम्सिना संचार मन्त्री, दिपक शाह श्रम मन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, सिता बादी महिला बालबालिका मन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री बन्ने पक्का भएको स्रोतले बताएको छ ।


