नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र तिनका परिवारको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरी स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, दुई पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतको विस्तृत छानबिन अघि बढाइएको छ। यस क्रममा पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान भइरहेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धानमा देखिएका समस्याका कारण तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई पत्र पठाएको थियो। यसैबीच २४ भदौमा भएको आगजनी घटनाका क्रममा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा भेटिएका थिए। त्यसपछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई जिम्मा दिएको थियो।


