Banijya News

शासकीय सुधार कार्यसूचीमा व्यापार घाटा न्यूनीकरणलाई उपेक्षा

1
1.1K Shares

सरकारले हालै सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा बढ्दो व्यापार घाटा न्यूनीकरणको विषयलाई उपेक्षा गरिएको छ । मुलुकको वैदेशिक व्यापार घाटा बर्सेनि चुलिँदै गएको अवस्थामा पनि त्यसलाई घटाउने ठोस रणनीति र नीतिगत व्यवस्था कार्यसूचीमा समेटिएको छैन् ।

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो यो घाटालाई नियन्त्रण गर्न आवश्यक नीति तथा कार्यक्रम नदेखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । व्यापारसँग सम्बन्धित पूर्वाधार विकासतर्फ पनि सरकारको कार्यसूची कमजोर देखिएको छ । विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, कन्टेनर फ्रेट स्टेसन तथा व्यापारसँग जोडिएका रणनीतिक सडक विस्तारजस्ता विषयमा कुनै ठोस नीति नदेखिएको ओझाको भनाइ छ । यस्ता पूर्वाधारले निर्यात प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भए पनि सुधार कार्यसूचीमा तिनको अभाव देखिन्छ । यद्यपि, सरकारले लगानी वातावरण सुधारलाई भने प्राथमिकतामा राखेको छ । स्वदेशी तथा वैदेशिक लगानीकर्तालाई सहज सेवा दिन लगानी बोर्ड नेपालअन्तर्गत एकद्वार स्वीकृति प्रणाली सञ्चालन गर्ने योजना अघि सारिएको छ । यसका लागि कार्यविधि तयार भइसकेको र छिट्टै कार्यान्वयनमा जाने लगानी बोर्डका अधिकारीहरूले बताएका छन् । १४ वटा मन्त्रालयका फोकल पर्सनसमेत तोकिसकिएको जनाइएको छ ।

त्यसैगरी, राष्ट्रिय गौरवका आयोजना तथा लगानी बोर्डमा दर्ता भएका परियोजनाको लगानी ढाँचा निर्धारण गर्ने योजना पनि सरकारको कार्यसूचीमा समावेश छ । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र लगानी बोर्डको संयुक्त पहलमा ९० दिनभित्र परियोजनाहरूलाई सरकारी, निजी, सार्वजनिक–निजी साझेदारी वा मिश्रित मोडेलमा वर्गीकरण गरी ‘नेसनल स्ट्रक्चर्ड प्रोजेक्ट पाइपलाइन’ तयार गर्ने लक्ष्य राखिएको छ । हाल लगानी बोर्डमा रहेका ३८ परियोजनाको प्रोफाइल तयार गर्ने काम भइरहेको जनाइएको छ । सरकारले उद्योग दर्ता, स्वीकृति तथा सञ्चालन प्रक्रियालाई सरल र पारदर्शी बनाउन एकल विन्दु सेवा केन्द्रलाई प्रभावकारी बनाउने पनि जनाएको छ । साथै, ‘स्टार्टअप फास्ट ट्र्याक’ प्रणालीमार्फत व्यवसाय दर्ता, कर दर्ता र बैंक खाता खोल्ने प्रक्रियालाई एकीकृत गरी ४५ दिनभित्र सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ । सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र ट्र्याकिङयोग्य बनाउने लक्ष्य पनि राखिएको छ ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत प्रधानमन्त्री कार्यसम्पादन एकाइ स्थापना गर्ने योजना पनि अघि सारेको छ । उक्त एकाइले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाको कार्यसम्पादन सूचक निर्धारण, प्रगति अनुगमन तथा समस्या समाधानका लागि केन्द्रीय ड्यासबोर्ड सञ्चालन गर्नेछ । निजी क्षेत्रसँग समन्वय बढाउन प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग वाणिज्य संवाद परिषद्लाई सक्रिय बनाउने योजना पनि कार्यसूचीमा समेटिएको छ ।

यद्यपि, अघिल्ला अनुभवका आधारमा यस्ता संरचना र योजना प्रभावकारी रूपमा कार्यान्वयन हुने वा नहुनेमा आशंका कायमै रहेको सरोकारवालाहरू बताउँछन् । विशेषगरी व्यापार घाटा न्यूनीकरणजस्तो संवेदनशील विषय नै सुधार कार्यसूचीमा प्राथमिकतामा नपर्नुले समग्र आर्थिक सुधार प्रयासको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ ।

1

Scroll to Top