नेपालमा सङ्घीयता कार्यान्वयनको एक दशक पुग्न लाग्दा समेत प्रदेश सरकारहरूले आफ्नो दह्रो राजनीतिक र वित्तीय स्वत्व स्थापित गर्न सकेका छैनन् । प्राकृतिक स्रोत तथा वित्त आयोगको पछिल्लो प्रतिवेदनले प्रदेशहरूको वित्तीय परनिर्भरता ८० देखि ९० प्रgeतिशतसम्म रहेको र आन्तरिक राजस्व परिचालन अत्यन्त न्यून रहेको डरलाग्दो तथ्य उजागर गरेको छ ।
यही पृष्ठभूमिमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीद्वारा गठित सुशासन मार्गचित्र समितिले प्रदेश सरकारको सबलीकरणका लागि मन्त्रालयको सङ्ख्या कटौतीदेखि डिजिटल प्रदेश निर्माणसम्मको विस्तृत कार्ययोजना सरकारलाई बुझाएको छ । २०८२ भदौमा भएको जेनजी विद्रोहपछि राज्य संयन्त्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न गठित यो समितिले २०८२ चैत ३ गते बुझाएको प्रतिवेदनमा प्रदेशहरू प्रभावकारी हुन नसक्नुको मुख्य दोषी सङ्घीय सरकारको केन्द्रीकृत मानसिकता रहेको दाबी गरिएको छ ।
प्रतिवेदनको पृष्ठ ३३ र ३४ मा उल्लेख भएअनुसार सङ्घीय निजामती सेवा ऐनजस्ता छाता कानुनको अभावमा प्रदेशहरूमा करिब ४० प्रतिशत कर्मचारी रिक्त छन्, जसले गर्दा प्रशासनिक पक्षघातको स्थिति सिर्जना भएको छ । विगतका प्राज्ञिक अनुसन्धानहरूले समेत सङ्घको केन्द्रीकृत मानसिकता र संरचनागत जडतालाई नै प्रादेशिक सुशासनको मुख्य बाधक ठहर गरेका छन् । यस समस्यालाई चिर्न समितिले अब प्रदेशमा बढीमा ७ वटा मात्र मन्त्रालय रहने गरी कानुनी प्रबन्ध गर्न र आवश्यकता नभएका बोर्ड, समिति तथा जिल्लास्तरका विषयगत कार्यालयहरू खारेज गरी ‘एकीकृत सेवा प्रवाह मोडालिटी’ अपनाउन सुझाव दिएको छ ।
कर्मचारीहरूको बारम्बार हुने सरुवा रोक्न र व्यावसायिकता बढाउन मन्त्रालयगत समूह बनाउने र वृत्ति विकासमा एकरूपता ल्याउने प्रस्ताव समेत मार्गचित्रमा समावेश छ । वित्तीय रूपमा आत्मनिर्भर बनाउन प्रतिवेदनले बजेट खर्च गर्ने तर उपलब्धि नदेखिने ‘असारे विकास’ को प्रवृत्तिलाई कडा रूपमा रोक्न खोजेको छ । हचुवाका भरमा आयोजना छनोट गर्ने परिपाटी अन्त्य गर्न ‘आयोजना बैंक’ प्रणालीलाई अनिवार्य गर्ने र लागत–लाभ विश्लेषणका आधारमा मात्र बजेट विनियोजन गर्ने प्रस्ताव गरिएको छ ।
भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाहमा सहजता ल्याउनका लागि डिजिटल रूपान्तरणलाई मुख्य हतियार बनाउँदै नागरिकका लागि ‘एकीकृत प्रदेश सेवा पोर्टल’ विकास गर्ने लक्ष्य राखिएको छ । यसले सवारी चालक अनुमति पत्र लगायतका सेवाहरूलाई अनलाइन गरी नागरिकलाई ‘पेपरलेस र फेसलेस’ शासनको अनुभूति दिलाउने र डिजिटल टोकन तथा फाइल ट्रयाकिङमार्फत सरकारी ढिलासुस्ती अन्त्य गर्ने योजना अघि सारेको छ ।
यस मार्गचित्रले कार्यान्वयनका लागि स्पष्ट समयतालिका समेत तय गरेको छ, जसअन्तर्गत तीन महिनाभित्र मन्त्रालयको सङ्ख्या घटाउने, छ महिनाभित्र कर्मचारी ऐन ल्याउने र तीन वर्षभित्र सङ्घीय अनुदानमा रहेको अत्यधिक निर्भरतालाई उल्लेख्य रूपमा घटाउने लक्ष्य लिइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहबिच देखिएको अविश्वास र समन्वयको अभावलाई हटाउन राष्ट्रिय तथा प्रदेश समन्वय परिषद् जस्ता संवैधानिक संयन्त्रहरूलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।
यो मार्गचित्रले प्रदेश सरकारलाई प्रशासनिक बोझको आरोपबाट मुक्त गराई जनउत्तरदायी र वित्तीय रूपमा सबल बनाउने सङ्कल्प गरे पनि यसको सफलता सङ्घको उदारता र प्रदेशहरूको राजनीतिक इच्छाशक्तिमा नै निर्भर रहने देखिन्छ ।


