Banijya News

यस्तो छ स्टक ब्रोकर एसोसिएसनको अर्थमन्त्रीसँग माग

1
1.1K Shares

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पूँजी बजारमा देखिएका समस्या समाधान र सुधारका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएको छ। सोमबार एसोसिएसनका महासचिव भक्तिराम घिमिरेको नेतृत्वमा गएको टोलीले अर्थ मन्त्रालयमा पुगी बजार विकासका लागि पाँच बुँदे मागपत्र पेस गरेको हो।

५६ लाख लगानीकर्ता र ९२ वटा ब्रोकर रहेको वर्तमान अवस्थामा बजारलाई थप चलायमान र सुरक्षित बनाउनुपर्नेमा एसोसिएसनले जोड दिएको छ। ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री वाग्लेले सरकार पूँजी बजारका समस्या समाधान गर्न सकारात्मक रहेको बताए । उनले वर्तमान सरकार २०४८ साल पछिकै उदार अर्थव्यवस्थाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै लगानीकर्ताहरूलाई ढुक्क भएर लगानी गर्न समेत आग्रह गरे l

एसोसिएसनले पेस गरेका मुख्य मागहरूमा पूँजीबजार सुधार कार्यदलका बाँकी सुझावहरू तत्काल कार्यान्वयन गर्नुपर्ने र बैंक तथा वित्तीय संस्थाहरूलाई बजारमा सहज प्रवेश र बहिर्गमनको व्यवस्था मिलाउनुपर्ने रहेका छन्। हाल बैंकहरूले सेयर खरिद गरेको ६ महिनापछि मात्र बिक्री गर्न पाउने प्रावधानलाई संशोधन गर्न उनीहरूको माग छ। यस्तै, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहज पहुँच दिनुपर्ने, आगामी बजेटमार्फत पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा स्पष्ट पार्नुपर्ने र सरकारी कोषहरूलाई बजारमा लगानीका लागि प्रोत्साहन गर्नुपर्ने विषयलाई पनि एसोसिएसनले प्राथमिकताका साथ उठाएको छ।

यसका साथै, धितोपत्र हस्तान्तरण हुन नसक्दा लगानीकर्ताहरू सिधै ‘क्लोज आउट’को मारमा पर्ने गरेकाले त्यसको विकल्पमा ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग महासचिव घिमिरेले राखेका छन ।

1

Scroll to Top