Banijya News

अटोमोबाइल क्षेत्रबारे नाडा र अर्थमन्त्रीबीच छलफल

1
1.1K Shares

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था र यसका चुनौतीबारे गहन छलफल गरेको छ।

भेटका क्रममा अध्यक्ष उप्रेतीले सफल कार्यकालको शुभकामना दिँदै अटोमोवाइल क्षेत्रलाई माथि उठाउन सरकारले नयाँ र व्यावसायिक नीतिहरू ल्याउने अपेक्षा व्यक्त गरे । यस्ता नीतिगत सुधारले सरकारी राजस्वमा वृद्धि हुने र रोजगारीका अवसरहरू समेत बढ्ने उनको तर्क थियो। जवाफमा अर्थमन्त्री वाग्लेले राजस्व संकलन वृद्धि गर्न करको दर घटाउने र राजस्वको दायरा फराकिलो बनाउने योजना रहेको बताउँदै निजी क्षेत्रमैत्री नीति ल्याउने आश्वासन दिए । साथै, सरकारले अनियमितता हटाउन पहल गर्ने र सडक पूर्वाधारमा ठूलो लगानी गर्ने प्रतिबद्धता जनाउँदै आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताए ।

छलफलकै क्रममा अध्यक्ष उप्रेतीले स्वदेशी अटोमोवाइल उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थको आयातमा छुट दिनुपर्ने र सि.के.डी प्रणालीमा देखिएका जटिलताहरू हल गर्नुपर्नेमा जोड दिए । नेपालमा टायर, ब्याट्री, लुब्रिकेन्ट्स र हेलमेट जस्ता वस्तुहरूको उत्पादन सुरु भए पनि सरकारसँग गुणस्तर मापन गर्ने यन्त्र नहुँदा व्यवसायीले समस्या भोग्नुपरेको तर्फ उनले ध्यानाकर्षण गराए ।

नाडाले यसै अवसरमा ३६ बुँदे सुझाव पत्र समेत पेश गरेको थियो। छलफलमा निर्वतमान अध्यक्ष करण चौधरीले कम्पोनेन्ट उद्योगको सम्भावना र विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले विद्युतीय सवारीको प्रवर्द्धन एवं सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी नियन्त्रणका बारेमा धारणा राखे । उपाध्यक्ष विक्रम सिंघानियाले नेपाली उद्योगलाई संरक्षण दिनुपर्ने माग गरेको उक्त भेटमा नाडाका अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

1

Scroll to Top