यामाहा नेपालको आयोजनामा थाइल्याण्डको पटायामा सञ्चालन भइरहेको ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन देशभरका यामाहा साझेदारहरू प्रस्थान गरेका छन्। आगामी जुलाई ३१ सम्म चल्ने यस कार्यक्रमले नेपालभर रहेका साझेदारहरूलाई एकै स्थानमा गोलबन्द गर्दै उत्सव, सिकाइ र साझा भविष्यको दृष्टिकोण अघि बढाउने मुख्य उद्देश्य राखेको छ।
एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवालसहितको टोली यस कार्यक्रममा सहभागी हुन थाइल्याण्ड गएको छ। यस अन्तर्राष्ट्रिय सहभागिताले यामाहा नेपाल र देशभरका डिलरहरूबीचको सुदृढ तथा निरन्तर विस्तार भइरहेको व्यावसायिक सम्बन्धलाई थप गहिरो र बलियो बनाएको छ।
यस विशेष कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको प्रमुख उपस्थिति रहेको छ। यसले नेपाली साझेदारहरूलाई यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष रूपमा संवाद गर्ने तथा ब्रान्डको आगामी रणनीतिक दिशाबारे महत्त्वपूर्ण जानकारी हासिल गर्ने दुर्लभ अवसर जुराएको छ।
विभिन्न सत्र र समारोहसहित सञ्चालन भइरहेको यस मिटले नेपाली साझेदारहरूको कडा मेहनत र योगदानको उच्च सम्मान गरेको छ। कार्यक्रमपश्चात सहभागीहरू नयाँ ऊर्जा, स्पष्ट साझा लक्ष्य र थप दृढ प्रतिबद्धताका साथ स्वदेश फर्किएर आउँदा दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने विश्वास लिइएको छ।


