मध्यपूर्वमा जारी अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनावको प्रत्यक्ष मारमा रुपन्देही–भैरहवा औद्योगिक करिडोरका उद्योगहरू पर्न थालेका छन् । अन्तर्राष्ट्रिय स्तरको यो द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र कच्चा पदार्थको मूल्य आकासिएपछि यस क्षेत्रका २५२ भन्दा बढी साना–ठूला उद्योगहरू बन्द हुने संघारमा पुगेका हुन्।
ढुवानी भाडा र बीमा शुल्कमा भएको अस्वाभाविक वृद्धिले उत्पादन लागतलाई नियन्त्रण बाहिर पुर्याउँदा उद्योगीहरूले अहिलेकै अवस्थामा उत्पादन जारी राख्न नसकिने चेतावनी दिएका छन्।
विशेषगरी प्लास्टिकजन्य उद्योगहरूमा संकट गहिरिएको छ। पहिले प्रतिटन ९ सय डलरमा पाइने प्लास्टिक दानाको मूल्य अहिले १५ सय डलरसम्म पुगेको छ, जसले समग्र लागत संरचनालाई नै असन्तुलित बनाएको छ।
भारतीय सप्लायर्सहरूले समेत एलसी खोलिसकेको सामान पठाउन छाडेका छन् भने अन्य मुलुकबाट कच्चा पदार्थ ल्याउन ढुवानी लागत र समयका कारण सम्भव देखिएको छैन। कच्चा पदार्थको अभावले आगामी एक हप्ताभित्रै धेरै उद्योगहरूको मेसिन बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यस करिडोरमा झन्डै २५ अर्ब रुपैयाँको लगानी रहेको र ५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेकाले उद्योगहरू बन्द भएमा ठुलो आर्थिक संकट निम्तिने जोखिम छ। उद्योगीहरूले यो विषम परिस्थितिमा सरकारलाई मुकदर्शक नबन्न आग्रह गरेका छन्।
कच्चा पदार्थ आयातमा सहुलियत, बैंक ब्याजदरमा राहत, र विद्युत् महसुलमा अस्थायी छुट दिएर उद्योगलाई जोगाउन उनीहरूले माग गरेका छन्। समयमै प्रभावकारी कदम नचालिए राजस्व संकलनमा ह्रास आउने र बजारमा अत्याधिक मूल्यवृद्धि हुने निश्चित देखिएको छ।


