Banijya News

भुक्तानी नपाउँदा लुम्बिनीको गौरव आयोजना जोखिममा

1
1.1K Shares

लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाअन्तर्गत निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल को १२ तले भवन निर्माणका लागि ठेक्का लिएको कम्पनीलाई समयमै भुक्तानी गर्न नसक्दा परियोजना अन्योलमा परेको छ । बुटवलस्थित उक्त अस्पतालको भवन निर्माण गरिरहेको ‘क्यापासाइट–आशिष–रेलिगेयर’ जेभीले काम तीव्र रूपमा अघि बढाए पनि सरकारले सम्झौताअनुसारको रकम भुक्तानी गर्न नसकेको हो । निर्माण कम्पनीका अनुसार हालसम्म करिब ५ अर्ब रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ, तर ३ अर्ब ४० करोड रुपैयाँ मात्र भुक्तानी प्राप्त भएको छ ।

परियोजनाअनुसार हालसम्म ३७ दशमलव २१ प्रतिशत भौतिक प्रगति भएको छ । दुई तला अन्डरग्राउन्डसहित १२ तले भवनमध्ये अन्डरग्राउन्डको काम सकिएको छ भने माथिल्लो तेस्रो तलाको ढलाइ सम्पन्न भई चौथो तलाको काम अन्तिम चरणमा पुगेको छ । निर्माणस्थलमा दैनिक ३ सयभन्दा बढी कामदार खटिएका छन् । निर्माण सम्झौताअनुसार कामको प्रगतिअनुसार हालसम्म ५ अर्ब २२ करोड रुपैयाँ भुक्तानी हुनुपर्नेमा करिब २ अर्ब ५५ करोड रुपैयाँ बाँकी रहेको निर्माण पक्षको दाबी छ । बिल पेस गरेको ५६ दिनभित्र भुक्तानी गर्नुपर्ने प्रावधान भए पनि कतिपय बिल १ सय दिनभन्दा बढी ढिलाइ भएको जनाइएको छ । यसअनुसार सरकारले ब्याजस्वरूप करोडौं रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको छ ।

परियोजनाका साइट इन्चार्ज इन्जिनियर शंकर सुवेदीका अनुसार हाल तत्काल कम्तीमा १ अर्ब ३० करोड रुपैयाँ भुक्तानी नगरे निर्माणको निरन्तरता प्रभावित हुन सक्छ । साथै आगामी आर्थिक वर्षका लागि थप २ अर्ब ५५ करोड बजेट आवश्यक पर्ने उनले बताए । निर्माण कम्पनीले ५० करोड रुपैयाँभन्दा बढीका निर्माण सामग्री साइटमै झारिसकेको जनाएको छ । भुक्तानी अझै ढिलाइ भए निर्माण रोक्नुपर्ने अवस्था आउन सक्ने निर्माण व्यवसायी शेरबहादुर केसीले बताए ।

प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुले भने निर्माणको गति सन्तोषजनक रहेको तर बजेट अभावका कारण भुक्तानीमा समस्या भएको स्वीकार गरे । चालु आर्थिक वर्षमा ८० करोड रुपैयाँ विनियोजन भइसकेको र थप रकम व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए । करिब ७ अर्ब १५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त अस्पताल भवन २०८५ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निर्माण सम्पन्न भएपछि ७ सय शय्याको सुविधा विस्तार हुने र छुट्टै १ सय शय्याको क्यान्सर भवनबाट सेवा सुरु हुनेछ । हाल अस्पतालमा बिरामीको अत्यधिक चापका कारण एकै बेडमा एकभन्दा बढी बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था रहेको छ । नयाँ भवन निर्माण सम्पन्न भएपछि दैनिक १२ सय बिरामीलाई सहज रूपमा भर्ना गरेर उपचार गर्न सकिने अपेक्षा गरिएको छ । भुक्तानी अभावले निर्माण कार्य प्रभावित भएमा यस क्षेत्रका लाखौं बिरामीलाई सेवा विस्तारमा ढिलाइ हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गरेका छन् ।

1

Scroll to Top