कामना सेवा विकास बैंकले मर्चेण्ट बैंकिङ क्षेत्रमा प्रवेश गर्ने उद्देश्यका साथ आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद प्रक्रिया अघि बढाएको छ। बैंकले आकाश क्यापिटललाई आफ्नो सहायक कम्पनीको रूपमा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति समेत प्राप्त गरिसकेको छ।
यसअघि नै दुई संस्थाबीच शेयर खरिद-बिक्रीसम्बन्धी प्रारम्भिक सम्झौता भइसकेको थियो, जसलाई राष्ट्र बैंकको यो निर्णयले कार्यान्वयनको बाटो खोलेको छ। राष्ट्र बैंकको स्वीकृतिपछि अब बैंकले प्रचलित धितोपत्र सम्बन्धी कानुन र नियामक व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति लिने प्रक्रिया सुरु गर्नेछ।
दर्ता र अनुमति प्रक्रिया पूरा भएलगत्तै सहायक कम्पनीमार्फत औपचारिक रूपमा मर्चेण्ट बैंकिङ सेवाहरू सञ्चालनमा ल्याइने बैंकले जनाएको छ। यसका लागि आवश्यक कानुनी र प्राविधिक तयारीहरू तीव्र पारिएका छन्।
बैंकको स्वामित्वमा आएपछि यो कम्पनी (कामना सेवा क्यापिटल लिमिटेड) को नयाँ नामबाट सञ्चालन हुनेछ। सहायक कम्पनीका रूपमा मर्चेण्ट बैंकिङ सेवा सुरु भएसँगै बैंकको सेवाको दायरा थप फराकिलो हुने र यसले नेपालको समग्र पूँजी बजारको विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।


