ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै ग्रामीण र दुर्गम क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ हुने गरी योजना बनाउन निर्देशन दिएका छन । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको १११ औँ बोर्ड बैठकमा बोल्दै उनले वस्तुगत र वैज्ञानिक आधारमा योजनाहरू तय गर्न र नवप्रवर्तनकारी कार्यक्रमहरू ल्याउन सुझाव दिए ।
यसैबीच, बैठकले केन्द्रलाई प्राप्त बजेट सिलिङभित्र रहेर आगामी वर्षको नीति तथा कार्यक्रम तयार गर्ने सहमति दिएको छ। साथै, जलवायु परिवर्तनका कारण हुने क्षति न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय ‘हानि-नोक्सानी कोष’ मा करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको परियोजना प्रस्ताव पेस गर्ने निर्णयसमेत भएको छ।
वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा तयार पारेको यो प्रस्तावलाई हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायका रूपमा केन्द्रले अगाडि बढाउनेछ। केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार मन्त्री श्रेष्ठले दुर्गमका नागरिकले राज्यको सेवा प्रत्यक्ष अनुभव गर्न पाउने गरी काम गर्न विशेष जोड दिएका छन ।


