औषधि उत्पादन क्षेत्रको स्थापित कम्पनी सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आफ्नो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि वैशाख २ गतेदेखि नै निष्कासन गर्ने तयारी भए तापनि सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण एक दिन ढिलो गरी आजदेखि आवेदन लिन सुरु गरिएको हो। इच्छुक लगानीकर्ताहरूले यस निष्कासनमा छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर बिक्री गर्ने अनुमति पाएको थियो, जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्टाइएको हिस्सापछि बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर अहिले सर्वसाधारणका लागि उपलब्ध गराइएको हो । कम्पनीको वित्तीय अवस्थालाई हेर्दा यो निकै बलियो र आशालाग्दो देखिन्छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनी ३३ करोड ८० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ। गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्मको तथ्याङ्क अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ १५ पैसा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३३ पैसा रहेको थियो । यो आईपीओ सफलतापूर्वक बाँडफाँट भएपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ पुग्नेछ, जसमा संस्थापक शेयरधनीको ७५ प्रतिशत र सर्वसाधारणको २५ प्रतिशत हिस्सा कायम हुनेछ।
आईपीओबाट संकलित पुँजीलाई कम्पनीले बैंकको ऋण घटाउन, नयाँ उत्पादनका परियोजनाहरू सञ्चालन गर्न र कार्यसञ्चालन खर्च व्यवस्थापनमा उपयोग गर्ने लक्ष्य राखेको छ। लगानीको प्रक्रिया र जोखिमका सन्दर्भमा भने लगानीकर्ताले केही विशेष कुरामा ध्यान दिनुपर्ने देखिन्छ। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई ’केयरएनपी बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। तसर्थ, लगानीकर्ताहरूलाई कम्पनीको रेटिङ्ग र भविष्यको सम्भावनालाई गम्भीरतापूर्वक विश्लेषण गरेर मात्र लगानी गर्न सुझाव दिइएको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ मार्फत सजिलै अनलाइन आवेदन दिन सक्नेछन्। यस निष्कासनको बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडले जिम्मेवारी सम्हालेको छ।
शेयरको दोस्रो बजारमा सूचीकरण र कारोबार मूल्यको सम्बन्धमा नेप्सेको नयाँ नियमले यसलाई विशेष बनाएको छ। २०८२ फागुन १ देखि लागू भएको नयाँ नियम अनुसार, यदि कुनै कम्पनीको नेटवर्थ १०० रुपैयाँभन्दा कम छ भने सोही नेटवर्थलाई आधार मानेर पहिलो कारोबारको मूल्य तोकिन्छ। सोपान फर्मास्युटिकल्सको पछिल्लो अडिटेड नेटवर्थ ९२ रुपैयाँ १५ पैसा रहेकाले नेप्सेले यसको पहिलो कारोबारका लागि ९२ रुपैयाँ १५ पैसादेखि २७६ रुपैयाँ ४५ पैसा सम्मको मूल्य सीमा (ओपनिङ रेन्ज) तोक्ने निश्चित देखिन्छ।
ललितपुरको महालक्ष्मीस्थानमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले २०७८ सालदेखि औषधी उत्पादन सुरु गरेको हो र हालसम्म १३९ प्रकारका विभिन्न औषधीहरूको उत्पादन अनुमति प्राप्त गरी बजारमा आफ्नो पकड बलियो बनाउँदै आएको छ।


