सरकारी निकायको निर्णय कार्यान्वयन कति फितलो छ र व्यवसायीहरूले राज्यको कानुनलाई कसरी चुनौती दिन्छन् भन्ने एउटा लज्जास्पद उदाहरण राजधानीमा सार्वजनिक भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य वस्तु प्रयोग गरेको ठहर गर्दै उत्पादन र बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको ‘बागमती स्वीट्स’ को खाजा अर्को सरकारी नियामक निकाय नेपाल गुणस्तर तथा नापतौल विभागको बैठकमा निर्धक्क वितरण गरिएको पाइएको छ।
एउटा सरकारी अड्डाले स्वास्थ्यका लागि हानिकारक भनेर सिलबन्दी गरेको पसलको खानेकुरा अर्को सरकारी अड्डाको टेबुलमा पुग्नुले सरकारी संयन्त्रबीचको समन्वयमा रहेको ठूलो खाडल मात्र नभएर उपभोक्ताको स्वास्थ्यमाथि राज्यकै संरक्षणमा खेलबाड भइरहेको आभास दिलाएको छ। बिहीबार नेपाल गुणस्तर तथा नापतौल विभागमा एक महत्वपूर्ण छलफलका लागि बैठक बसिरहेको थियो । सोही क्रममा सहभागीहरूलाई खाजाका प्याकेटहरू वितरण गरियो । तर, उक्त प्याकेटमा ‘बागमती स्वीट्स’ को छाप देखेपछि बैठक स्थलमा उपस्थित उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले तत्कालै आपत्ति जनाएका थिए।
उनले खाद्य विभागले अखाद्य वस्तु भेटिएको भन्दै केही दिनअघि मात्रै बन्द गराएको पसलबाट खाजा कसरी आयो भनी प्रश्न गर्दा त्यहाँका कर्मचारीहरूले अनभिज्ञता प्रकट गरे। सरकारी प्रतिबन्धमा रहेको पसलले कसरी अर्डर लियो र कसरी डेलिभरी गर्यो भन्ने विषयले अहिले बजार अनुगमनको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ।
घटनाको पृष्ठभूमि हेर्दा, गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा बागमती स्वीट्सबाट मगाइएको खाजाको ड्राइफ्रुट्समा जिउँदो किरा भेटिएपछि यो विवाद सुरु भएको थियो । उक्त उजुरीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले उद्योगमा छापा मारेको थियो । अनुगमनका क्रममा मिठाई र अन्य परिकारमा मिसाउन राखिएको बदाममा जिउँदो किराहरू सलहसरी हिँडिरहेको फेला परेको थियो।
उद्योगको उत्पादन क्षेत्र अत्यन्तै फोहोर र अस्वस्थकर पाइएपछि विभागले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि बागमती स्वीट्सका सम्पूर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको थियो ।
यसरी कानुनी रूपमा बन्द गरिएको र सुधारका लागि समय दिइएको पसलले सरकारी आदेशको धज्जी उडाउँदै लुकिछिपी खाजा वितरण गर्नुले नियमनकारी निकायको प्रभावकारितामा शंका उब्जाएको छ। उपभोक्ता अधिकारकर्मी तिमल्सिनाले सरकारी सिलबन्दीलाई चुनौती दिने यस्ता व्यवसायीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन्।
“सरकारले बन्द गराएको पसलले कसरी खुलेआम प्याकिङ गरेर सरकारी कार्यालयमै खाजा पुर्याउन सक्छ?” उनले प्रश्न गर्दै भने, “यो सरासर राज्यको कानुनको अपमान र नागरिकको स्वास्थ्यमाथि गरिएको गम्भीर अपराध हो। यसमा खाजा खरिद गर्ने निकायको पनि कमजोरी देखिएको छ।” यस प्रकरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने छानबिन गर्ने प्रतिबद्धता जनाएको छ। विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बागमती स्वीट्सलाई सुधारको निर्देशन दिइएको भए पनि सञ्चालन र बिक्री वितरणको अनुमति कदै नदिइएको स्पष्ट पारेकी छिन्।
विभागको आदेश उल्लंघन गरी व्यापार जारी राखेको पाइएकाले काठमाडौँ जिल्ला प्रशासनसँग समन्वय गरेर कडा कानुनी कारबाही गरिने उनले बताइन्। तर, एउटै भवन वा नजिकैका सरकारी कार्यालयहरूबीच यस्ता महत्वपूर्ण जानकारीको आदानप्रदान नहुँदा आम उपभोक्ताले अझै पनि अखाद्य वस्तु उपभोग गर्न बाध्य हुनुपर्ने विडम्बनापूर्ण स्थिति देखिएको छ।


