सालपा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । बैंकको यस्तो नोक्सानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ लाख ८४ हजार रुपैयाँ व्यहोरेको थियो ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत र सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेको छ । प्रतिशेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ९७ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा ३.३५ प्रतिशत रहेको छ भने वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । यस अवधिमा बैंकले १ अर्ब ४९ करोड निक्षेप संकलन गरेको छ भने १ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
त्यस्तै, ५२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सञ्चित छ ।


