एनआईसी एशिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा) निष्कासन गर्न नेपाल राष्ट्र बैंकबाट पूर्व–स्वीकृति प्राप्त गरेको छ । केन्द्रीय बैंकले वैशाख १७ गते एक पत्र पठाउँदै बैंकलाई हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउन पूर्व–स्वीकृति प्रदान गरेको हो । पछिल्लो करिब सात वर्षयता समस्याग्रस्तबाट फुकुवा भएका बाहेक कुनै पनि वित्तीय संस्थालाई हकप्रद सेयर जारी गर्न अनुमति नदिएको अवस्थामा राष्ट्र बैंकले एनआईसी एशियालाई यो विशेष सुविधा दिएको हो । यसअघि बैंकले आर्थिक वर्ष २०७८/७९ मा नै हकप्रद सेयर निष्कासनका लागि अनुमति मागेको भए पनि त्यतिबेला केन्द्रीय बैंकले अस्वीकार गरेको थियो । पछिल्लो समय बढ्दो निष्क्रिय कर्जा र लगातार बढ्दै गएको सञ्चित नोक्सानीका कारण बैंकको प्राथमिक पुँजीकोष नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा तल झरेकाले पुँजी सुदृढीकरणका लागि यो कदम चालिएको हो ।
हाल १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको सञ्चालक समितिले गत पुस २० गते बसेको बैठकबाट हकप्रद निष्कासनको प्रस्ताव गरेको थियो । अब बैंकले यो विशेष प्रस्ताव आफ्नो २८औँ वार्षिक साधारण सभामा पेस गर्नेछ । उक्त साधारण सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै बैंकको हकप्रद निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्नेछ ।


