Banijya News

ग्लोबल बैंक शाखा प्रमुखको मृत्यु प्रकरणः आर्थिक प्रस्ताव सहित बैंकको दबाब, अनुसन्धान कमजोर बनाउने प्रयास

1
1.0K Shares

झापाको दमकस्थित चारआलीमा रहेको ग्लोबल आइएमई बैंकका शाखा प्रमुख पिताम्बर खड्काको मृत्यु प्रकरणले पछिल्लो समय थप गम्भीर मोड लिएको छ । खड्काको मृत्यु पश्चात् सार्वजनिक भएका विवरण, परिवारले दिएको जाहेरी तथा विभिन्न आरोपहरूले घटनामा आर्थिक चलखेल, मानसिक दबाब र उच्च तहको संलग्नता बढदै गएको खुलाशा भएको छ ।

मृत्यु अघि खड्काले सामाजिक सञ्जाल फेसबुकमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र कुमार रेग्मी लगायत उच्च अधिकारीहरूको तस्बिर सार्वजनिक गर्दै आफूलाई अन्याय भएको संकेत गर्ने स्टाटस लेखेका थिए । सो स्टाटस आएको केही घण्टामै उनी मृत अवस्थामा फेला परेपछि घटनाले जटिल बनेको हो । मृतकका तर्फबाट बैंक सिइओ रेग्मी सहित चार जना उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा जाहेरी दर्ता गरिएको छ । जाहेरी अनुसार, बैंक प्रशासनले लामो समयदेखि खड्कालाई जागिर छोड्न दबाब दिँदै आएको थियो । अन्यथा दुर्गम क्षेत्रमा सरुवा गर्ने धम्की दिइएको, जिम्मेवारीविहीन बनाइएको र निरन्तर मानसिक तनाव सिर्जना गरिएको आरोप लगाइएको छ । यस्ता परिस्थितिका कारण खड्का गम्भीर मानसिक दबाबमा परेको र आत्माहत्या गरेको परिवारको दाबी छ । दाबिका बिच प्रहरी अनुसन्धान जारी रहेको अवस्थामा केशलाई गुपचुप दवाउन खोजिएको बैक कर्मचारी नै बताउँछन् । कानुनी रूपमा आत्महत्या दुरुत्साहन जस्तो गम्भीर मुद्दामा मिलापत्र गर्न नमिल्ने भएकाले पनि यो प्रकरण थप जटिल बनेको देखिन्छ । यसैबीच, घटनामा उच्च पदस्थ व्यक्तिहरू मुछिएकाले अनुसन्धान प्रक्रियामा दबाब आएको आरोप समेत उठेको छ ।

घटनामा नाम जोडिएका उच्च अधिकारीहरू हालसम्म पक्राउ नपरेको विषयले अनुसन्धानको निष्पक्षतामाथि प्रश्न उठ्न थालेको छ । मृतकका परिवार तथा नजिकका व्यक्तिहरूले प्रहरीमाथि प्रभाव परेको आशंका व्यक्त गरेका छन् । उनीहरूका अनुसार, जाहेरी परेपछि समेत आरोपीहरूमाथि कडा कारबाही नगरी सामान्य सोधपुछमै सीमित रहनु शंकास्पद देखिन्छ ।

मृतक खड्का परिवार नजिकका एक सदस्यका अनुसार, बैंकका उच्च अधिकारीहरूले घटनालाई मिलाउन विभिन्न आर्थिक प्रस्ताव राखेका थिए । उक्त प्रस्तावमा खड्काले लिएको होम लोन मिनाहा गर्ने, एक करोड रुपैयाँ नगद दिने र उनकी श्रीमतीलाई बैंकमै जागिर दिने जस्ता विषय समावेश थिए । तर, परिवारभित्र यस विषयमा सहमति देखिएको छैन । विशेषगरी खड्काका बाबु–आमाले कुनै पनि प्रकारको आर्थिक सम्झौता अस्वीकार गर्ने अडान लिएका छन् । बुवा आमालाई पनि केश जे हुनुभैसको अव मिल्नु पर्छ भन्दै मिल्नका लागि दवाव दिदै आएका छन् ।
मृत्युको दिन उनले फेसबुकमा “यी चार जना हरामखोरले मलाई मर्न बाध्य बनाए” भन्ने आशयको स्टाटस लेखेका थिए । उक्त स्टाटसलाई घटनाको महत्वपूर्ण प्रमाणको रूपमा हेरिएको छ । त्यसपछि केही घण्टामै उनको मृत्यु भएको अवस्थामा भेटिनुले घटनालाई अझ रहस्यमय बनाएको छ ।

हाल प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ र दोषी पत्ता लगाई कडा कारबाही गर्ने आश्वासन दिएको छ । यद्यपि, मृतकका परिवारजनले अझैसम्म न्यायको अनुभूति गर्न नसकेको गुनासो गरेका छन् । घटनामा संलग्न भनिएका अधिकारीहरू सम्पर्कविहीन रहेको जानकारी समेत सार्वजनिक भएको छ । यो प्रकरणले बैंकिङ क्षेत्र, कर्मचारीमाथिको व्यवहार, तथा न्याय प्रणालीको पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ । अबको अनुसन्धानले सत्य उजागर गरी दोषीलाई कानुनी दायरामा ल्याउन सके मात्रै पीडित परिवारले न्याय पाउने अपेक्षा गरिएको छ ।

ग्लोबल आईएमई बैंक प्रकरणः कर्मचारीको आत्महत्या घटनाप्रति बैंकिङ संघसंस्थाहरुको ध्यानाकर्षण

1

Scroll to Top