हराएको सिमकार्ड दुरुपयोग गरी २४ लाख ४७ हजार ठगी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका रोशन पहाडी र डडेल्धुराका सुभाष ओझा रहेका छन् । प्रहरीले पहाडीलाई भक्तपुरको सल्लाघारीबाट र ओझालाई ललितपुरको एकान्तकुनाबाट नियन्त्रणमा लिएको हो ।
उनीहरुले उक्त सिमकार्डबाट मोबाइल बैंकिङ सेवा दुरुपयोग गरी सम्बन्धित व्यक्तिको बैंक खातामा रहेको २४ लाख ४७ हजार रकम हिनामिना गरेको आरोप छ ।
प्रहरीका अनुसार पीडित कान्छी लामाको नाममा वि.स.२०७० असोज २ गते एउटा सिमकार्ड जारी भएको थियो । लामाले तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक) मा खाता खोल्दा सोही मोबाइल नम्बर प्रयोग गरी मोबाइल बैंकिङको सुविधा लिएकी थिइन् ।
तर,उक्त नम्बर प्रयोग गरिरहेकै अवस्थामा करिब ६ वर्षपछि उनको सिमकार्ड हराएको पाइएको छ । उनको उक्त हराएको सिमकार्ड रोशन पहाडीले लिएको देखिएको प्रहरीले बताएको छ । उक्त सिमकार्ड पुनः सक्रिय भएपछि कान्छी लामाको बैंक खातामा जम्मा भएको रकमको सन्देश पहाडीको मोबाइलमा आउन थालेको खुल्न आएको छ ।
बैंक खातामा पैसा जम्मा भएको थाहा पाएका पहाडी र ओझाले मिलेर सोही नम्बरबाट कुमारी बैंकको मोबाइल बैंकिङ सेवा सुरु गरे । उनीहरूले विभिन्न व्यक्तिहरूलाई झुक्यानमा पारी बैंक खातामा रहेको रकम विभिन्न ईसेवा, खल्ती र अन्य व्यक्तिहरूको बैंक खातामा ट्रान्सफर गर्न लगाएर रकम झिक्ने गरेको प्रहरीको जनाएको छ ।
उनीहरूले मोबाइल बैंकिङको दुरुपयोग गरी २४ लाख ४७ हजार विभिन्न बैंक एकाउन्ट तथा वालेटहरूमा ट्रान्सफर गरी रकम हिनामिना गरेको खुल्न आएको छ । उनीहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।


