– लोकेन्द्र श्रेष्ठ “ईश्वर”
समाजमा केही व्यक्तित्व यस्ता हुन्छन्, जसको परिचय केवल पद र प्रतिष्ठाले होइन, उनीहरूले छोडेको योगदान, निर्माण गरेको संस्था र कमाएको सम्मानले निर्धारण गर्छ। नेपाल–भारत मैत्री संघका निवर्तमान राष्ट्रिय अध्यक्ष, कोशी प्रदेशका प्रथम सभामुख, पूर्व भूमिसुधार मन्त्री तथा भद्रपुर नगर पञ्चायतका लगातार तीन कार्यकालका प्रधानपञ्च ओमप्रकाश सारावगी (ओमजी) मैले नजिकबाट चिनेका, बुझेका र सम्मान गरेका व्यक्तित्वमध्ये एक हुनुहुन्छ।
ओमजीसँग मेरो परिचय आजको होइन। उहाँ भद्रपुर नगर पञ्चायतको प्रधानपञ्च हुँदा म धनकुटा नगर पञ्चायतको सदस्य थिएँ। त्यही समयदेखि उहाँसँग चिनजान सुरु भएको थियो। पछि नेपाल–भारत मैत्री संघको धनकुटा जिल्ला शाखाको संस्थापक अध्यक्षका रूपमा काम गर्ने अवसर पाएपछि उहाँसँग अझ नजिकबाट सहकार्य गर्ने र उहाँको व्यक्तित्वलाई बुझ्ने अवसर प्राप्त भयो। त्यसपछि करिब दुई दशकसम्म नेपाल–भारत मैत्री संघको केन्द्रीय कार्यसमितिमा सँगै काम गर्ने सौभाग्य मिल्यो। म केन्द्रीय सदस्य, उपाध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा रहँदा उहाँको नेतृत्वलाई नजिकबाट हेर्ने, बुझ्ने र सिक्ने अवसर पाएँ।
नेतृत्वमा हुनुपर्ने दूरदृष्टि, निर्णय क्षमता, सहनशीलता, सरलता, संगठन निर्माणको कौशल र सबैलाई साथमा लिएर अगाडि बढ्ने गुण उहाँमा प्रशस्त मात्रामा रहेको मैले अनुभव गरेको छु। उहाँको व्यवहारमा कहिल्यै अहंकार देखिएन। उच्च पदमा पुगेर पनि उहाँ सधैं सहज, सरल र आत्मीय रहनुभयो।
ओमजीको सार्वजनिक जीवन अत्यन्त समृद्ध र प्रेरणादायी छ। भद्रपुर नगर पञ्चायतको प्रधानपञ्चका रूपमा लगातार तीन कार्यकाल सफल नेतृत्व प्रदान गर्नुभयो। त्यसपछि प्रदेश राजनीतिमा प्रवेश गरी कोशी प्रदेशको पहिलो सभामुख बन्नुभयो। भूमिसुधार मन्त्रीका रूपमा पनि उहाँले जिम्मेवारी सम्हाल्नुभयो। सार्वजनिक जीवनका यी महत्वपूर्ण जिम्मेवारीहरूमा रहँदा उहाँले सधैं विकास, समन्वय र जनहितलाई प्राथमिकता दिनुभयो।
राजनीतिक क्षेत्रमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि उहाँको योगदान अत्यन्त उल्लेखनीय छ। झापा जिल्लामा लायन्स क्लब, मारवाडी सेवा समिति, नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक तथा सेवामूलक संस्थाहरूको स्थापना, विस्तार र सुदृढीकरणमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ। धेरै संघसंस्थाका संस्थापक अध्यक्ष तथा अगुवा अभियन्ताका रूपमा उहाँले समाजसेवालाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाउनुभयो।
नेपाल–भारत मैत्री संघको इतिहासमा उहाँको योगदान विशेष रूपमा स्मरणीय रहनेछ। उहाँकै नेतृत्वकालमा देशका विभिन्न जिल्लामा शाखा तथा उपशाखाहरू विस्तार भए। संगठनलाई राष्ट्रिय स्तरमा फैलाउन, नयाँ नेतृत्व तयार गर्न र नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई मजबुत बनाउन उहाँले अथक परिश्रम गर्नुभयो। विराटनगर, इटहरी, वीरगञ्ज र नेपालगञ्जमा सम्पन्न भएका राष्ट्रिय अधिवेशनहरू आज पनि सम्झनलायक ऐतिहासिक कार्यक्रमका रूपमा स्मरण गरिन्छन्। ती कार्यक्रमहरूको सफलतामा उहाँको नेतृत्व, व्यवस्थापन क्षमता र समर्पणको महत्वपूर्ण भूमिका थियो।
मैले उहाँमा देखेको सबैभन्दा ठूलो गुण भनेको मानिसप्रतिको विश्वास हो। उहाँले धेरै व्यक्तिलाई अवसर दिनुभयो, नेतृत्वमा ल्याउनुभयो र संस्थाको जिम्मेवारी सुम्पनुभयो। संगठन ठूलो बनाउने उद्देश्यले उहाँले धेरै साथीहरूलाई कार्यसमितिमा प्रवेश गराउनुभयो, पोर्टफोलियो सदस्य बनाउनु भयो, जिम्मेवारी दिनुभयो र प्रोत्साहन गर्नुभयो। तर जीवनको तितो यथार्थ के हो भने, उहाँले विश्वास गरेर अगाडि बढाएका केही व्यक्तिहरू नै पछिल्ला दिनमा उहाँकै विरोधमा उत्रिए। जसलाई आफ्नो ठानेर अवसर दिइयो, तीमध्ये केहीले संस्थाभित्रै असहयोग र आलोचनाको बाटो रोजे। त्यो दृश्य मैले नजिकबाट देखेको छु। आज पनि ती घटनाहरू सम्झँदा मन खिन्न हुन्छ।
तर ओमजीको महानता यहीँ प्रकट हुन्छ। उहाँले कहिल्यै प्रतिशोधको भावना राख्नुभएन। व्यक्तिगत स्वार्थभन्दा संस्थाको हित ठूलो हो भन्ने मान्यतामा दृढ रहँदै उहाँले सधैं सकारात्मक सोचका साथ अगाडि बढ्नुभयो। विरोध र आलोचनाका बीच पनि उहाँको धैर्यता, सहनशीलता र संस्थाप्रतिको निष्ठा कहिल्यै डगमगाएन।
युवावस्थामा उहाँ एक उत्कृष्ट फुटबल खेलाडी पनि हुनुहुन्थ्यो। खेलकुदले सिकाएको अनुशासन, संघर्षशीलता र टोलीलाई साथमा लिएर अगाडि बढ्ने गुण उहाँको नेतृत्वमा स्पष्ट देखिन्छ। आज उहाँले जीवनका आठ दशक पार गरिसक्नुभएको छ, तर उहाँको सोच, दृष्टिकोण, ऊर्जा र सक्रियता हेर्दा उमेर केवल अंक मात्र हो भन्ने अनुभूति हुन्छ। नयाँ पुस्ताका धेरै युवाभन्दा उहाँको सोच अझ प्रगतिशील, उत्साहजनक र सकारात्मक देखिन्छ। उहाँसँगको संवादमा आज पनि तन्नेरी जोश, नवीन सोच र समाजप्रतिको चिन्ता झल्किन्छ।
मेरा लागि ओमजी केवल एक राजनीतिक वा सामाजिक व्यक्तित्व मात्र होइन, नेतृत्व, विश्वास, संगठन निर्माण र मानवीय सम्बन्धको एउटा जिउँदो पाठशाला हुनुहुन्छ। उहाँसँगको लामो सहकार्यबाट मैले धेरै कुरा सिक्ने अवसर पाएँ। संस्था कसरी निर्माण गर्ने, मानिसलाई कसरी सम्मान गर्ने, असहमतिलाई कसरी सहने र कठिन परिस्थितिमा पनि सकारात्मक कसरी रहने भन्ने कुरा उहाँबाट सिक्न पाइयो।
समय बित्दै जाला, पुस्ता फेरिँदै जालान्, तर नेपाल–भारत मैत्री संघलाई देशव्यापी रूपमा विस्तार गर्न, झापाको सामाजिक जीवनलाई समृद्ध बनाउन, प्रदेश राजनीतिमा योगदान पुर्याउन र हजारौं मानिसको मन जित्न ओमप्रकाश सारावगीले पुर्याउनुभएको योगदान सधैं सम्मानका साथ स्मरण गरिनेछ।
उहाँको अनुभव, ऊर्जा, दूरदृष्टि र प्रेरणादायी जीवनयात्राले आगामी पुस्तालाई पनि मार्गदर्शन गरिरहोस्। आठ दशक पार गरिसकेपछि पनि युवाको जस्तो उत्साह र समाजसेवाको निरन्तर भावनासहित सक्रिय रहनु आफैंमा एउटा उदाहरण हो। ओमजीजस्ता व्यक्तित्वहरू समाजका अमूल्य सम्पत्ति हुन्, जसको योगदान इतिहासका पानामा मात्र होइन, उहाँलाई नजिकबाट चिन्ने र उहाँसँग काम गर्ने हजारौं मानिसहरूको हृदयमा सदैव जीवित रहनेछ। (लेखक सामाजिक अभियन्ता तथा नेपाल–भारत मैत्री संघका सल्लाहकार हुनुहुन्छ।)

आजको भक्तपुर क्यान्सर अस्पताल : निस्वार्थ समर्पित व्यक्तिहरूको उत्तिकै महत्वपूर्ण योगदानबाट सम्भब


