Banijya News

ओलिज स्टोरद्वारा ७० करोडको रेटिङ व्यापारमा वित्तीय स्रोत जुटाउने तयारी

1
1.0K Shares

ग्याजेट तथा इलेक्ट्रोनिक्स व्यवसायमा स्थापित ओलिज स्टोर प्रालिको व्यापारमा बलियो सुधार देखिएको छ। सन् २०२२ मा सरकारले विलासी वस्तु र मोबाइल आयातमा लगाएको प्रतिबन्धका कारण प्रभावित भएको कम्पनीको व्यवसायले पछिल्ला वर्षहरूमा राम्रो गति लिएको हो।

सन् २०२४ को तुलनामा सन् २०२५ मा कम्पनीको कारोबार १३.१९ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष (सन् २०२४) मा १ अर्ब ३१ करोड ९० लाख रुपैयाँ सीमित थियो। विगतका उतारचढावहरूलाई हेर्दा कम्पनीले सन् २०२१ मा ८३ करोड १० लाख र सन् २०२२ मा १ अर्ब ५२ करोड १० लाखको व्यापार गरेकोमा आयात प्रतिबन्धका कारण सन् २०२३ मा व्यापार घटेर ८५ करोड ४० लाख रुपैयाँमा झरेको थियो ।

सन् २०१० देखि नेपाली बजारमा विभिन्न ब्रान्डेड ग्याजेट, ल्यापटप, क्यामरा, ड्रोन तथा विशेषगरी एप्पल  का प्रिमियम उत्पादनहरू आयात गरी बिक्री गर्दै आएको ओलिज स्टोरको बजार विस्तार आक्रामक छ। हाल देशभर १५ वटा खुद्रा आउटलेटहरू सञ्चालन गरिरहेको यस कम्पनीमा चेतनप्रसाद ओली र लोकेश ओलीको समान ५०/५० प्रतिशत सेयर स्वामित्व रहेको छ। व्यापारको आकार अर्ब माथि रहे पनि तीव्र बजार प्रतिस्पर्धा र सञ्चालन खर्चका कारण कम्पनीको खुद नाफा मार्जिन भने १ देखि ३ प्रतिशतको साँघुरो घेरामा खुम्चिएको देखिन्छ। विवरणअनुसार सन् २०२४ मा ३.२३ प्रतिशत नाफा कमाएको कम्पनीको खुद नाफा गत आर्थिक वर्षमा १.३९ प्रतिशत मात्र रहेको छ।

व्यवसायिक दिगोपन र कार्यपुँजी व्यवस्थापनका लागि चेतनप्रसाद ओली अध्यक्ष रहेको यस कम्पनीले वित्तीय बजारबाट ऋण लिने तयारीस्वरूप ७० करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ। जसअन्तर्गत कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ८ लाख रुपैयाँ र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने अल्पकालीन कर्जाका लागि ६८ करोड ९१ लाख रुपैयाँको रेटिङ गराएको हो । आयात खुकुलो भएसँगै कुल सञ्चालन आम्दानीमा निरन्तर सुधार गरिरहेको ओलिज स्टोरले आगामी दिनमा आफ्नो नाफाको मार्जिनलाई सुधार्दै बजारमा प्रिमियम ग्याजेट बिक्रेताको रूपमा साख जोगाइराख्ने रणनीति लिएको देखिन्छ।

1

Scroll to Top