अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू र प्रधानमन्त्रीमाथि वित्तीय अपराधमा संलग्न भनिएको एउटा ठूलो समूहबाट नियोजित रूपमा आक्रमण र घेराबन्दी भइरहेको गम्भीर दाबी गरेका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा आयोजित बजेटसम्बन्धी विशेष छलफलमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सरकारले मुलुकको आर्थिक क्षेत्रमा रहेका विकृति र ठूला घोटालाहरू विरुद्ध कडा कदम चाल्न थालेपछि त्रसित बनेको समूहले आफ्नो बचाउका लागि राज्यको नेतृत्वमाथि प्रहार गरिरहेको उनको भनाइ छ। छलफलका क्रममा आफ्नो भनाइ राख्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री र आफूमाथि भइरहेको यो घेराबन्दी कुनै संयोग नभएर योजनाबद्ध खेल भएको उल्लेख गरेका छन ।
उनले नेपाली इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधमा संलग्नहरूमाथि सरकारले अहिले सूक्ष्म ढंगले छानबिन गरिरहेको र उक्त अनुसन्धान अन्तिम चरणमा पुगिसकेकाले केही दिनमै यो विषय कानुनी दायरामा आउँदै अदालत पुग्ने दाबी गरे। सरकारद्वारा अनुसन्धान प्रक्रिया अघि बढाइएकाले नै असन्तुष्ट र स्वार्थ समूहबाट आफूहरूलाई लक्षित गरेर चौतर्फी दबाब सिर्जना गर्ने र भ्रम फैलाउने काम भइरहेको उनले प्रष्ट पारे।
यसै सन्दर्भमा अर्थमन्त्री वाग्लेले त्यस्ता अपराधी र स्वार्थ समूहहरूबाट फैलाइने प्रायोजित भनाइ, हल्ला वा कुनै पनि किसिमको दबाबको प्रभावमा नपर्नका लागि बैठकमा उपस्थित माननीय सांसदहरूलाई विशेष आग्रह समेत गरे। उनले संसद्को गरिमालाई कमजोर पार्ने खालका गतिविधिहरू तर्फ सबै सचेत र सतर्क रहनुपर्नेमा जोड दिए। बजेट र आर्थिक नीतिजस्ता मुलुकको भविष्य निर्धारण गर्ने संवेदनशील विषयका छलफलहरूलाई राजनीतिक एजेन्डा वा व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर, पूर्ण रूपमा तथ्यमा आधारित र जिम्मेवार ढंगले अघि बढाउनुपर्नेमा उनले विशेष जोड दिएका छन्।


