लामो समयको सशस्त्र द्वन्द्वपछि अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता हुने भएको छ। विगत तीन महिनाभन्दा बढी समयदेखि जारी युद्ध अन्त्य गर्दै दुवै देश सैन्य गतिविधि रोक्न सहमत भएका हुन्।
पाकिस्तान र कतारको विशेष मध्यस्थतामा सम्भव भएको यो सहमतिअनुसार आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी छ। सम्झौतापछि विश्व व्यापार र इन्धन आपूर्तिको मुख्य मार्ग मानिने ‘स्ट्रेट अफ हर्मोज’ पुनः सञ्चालनमा आउनेछ। यस ऐतिहासिक निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत चार प्रतिशतभन्दा बढीको गिरावट आइसकेको छ, जसले शिथिल बनेको विश्व अर्थतन्त्रलाई ठूलो राहत दिने अनुमान गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत सम्झौताको पुष्टि गर्दै इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने र हर्मोज जलडमरूमध्यलाई खुला गर्ने स्पष्ट पारेका छन । यता इरानका उपपरराष्ट्र मन्त्री काजेम गरबाबादीले पनि सहमतिको स्वागत गर्दै औपचारिक हस्ताक्षरपछि मात्र यसका विस्तृत प्रावधानहरू कार्यान्वयनमा आउने र सार्वजनिक गरिने जानकारी दिएका छन ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार दुवै देश लेबनानलगायतका सबै मोर्चामा सैन्य कारबाही पूर्ण रूपमा रोक्न तयार भएका छन्। संयुक्त राष्ट्रसंघले यस कदमलाई विश्व शान्तिका लागि महत्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरेको छ। स्विट्जरल्यान्डमा हुने हस्ताक्षर समारोहमा अमेरिकाका तर्फबाट राष्ट्रपति ट्रम्प वा उपराष्ट्रपति जेडी भान्स सहभागी हुन सक्ने अनुमान गरिएको छ।
यो विनाशकारी युद्ध गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गरेपछि चर्किएको थियो। उक्त प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरिएको थियो। त्यसयता हजारौँ नागरिकले ज्यान गुमाएका थिए भने इरानले पनि इजरायल र अमेरिकी सैन्य ठेगानाहरूमा निरन्तर मिसाइल तथा ड्रोन प्रहार गर्दा मध्यपूर्वमा चरम तनाव उत्पन्न भएको थियो।
अमेरिकामा आउँदै गरेको मध्यावधि निर्वाचन र देशभित्र बढेको इन्धनको मूल्यवृद्धिका कारण ट्रम्प प्रशासनलाई यो युद्ध टुङ्ग्याउन चौतर्फी दबाब परेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। इरानभित्र पनि यस सम्झौतालाई लिएर मिश्रित प्रतिक्रिया आइरहेका बेला राष्ट्रपति मसउद पेजेस्कियानले वार्ताकारहरूको आलोचना नगर्न र राष्ट्रिय एकता कायम राख्न आह्वान गरेका छन ।
यद्यपि यो सम्झौताले पूर्ण रूपमा सर्वस्वीकार्यता भने पाइसकेको छैन। इजरायल सरकार र अमेरिकाको रिपब्लिकन पार्टीकै कतिपय नेताहरूले यसप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। यो सहमति सन् २०१५ को पुरानै इरान आणविक सम्झौता जस्तै रहेको भन्दै इजरायलले आफू यसको हिस्सा नबन्ने प्रष्ट पारेको छ।
इरानको आणविक कार्यक्रम र युरेनियम भण्डारणको विषय अझै पनि विवादकै केन्द्रमा रहेकाले अब कायम हुने ६० दिनको युद्धविराम अवधिमा यसबारे थप प्राविधिक छलफल गरिनेछ। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ भने बाँकी संवेदनशील मुद्दाहरूमा आगामी चरणका वार्ताहरूमा गहन समीक्षा हुने बताइएको छ।


