Banijya News

शिक्षामन्त्रीसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता

1
1.0K Shares

शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल र नेपालका लागि स्विटजरल्याण्डका राजदूत ड्यानिएल मेउलीबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ। आपसी हित र द्विपक्षीय सम्बन्धमा केन्द्रित उक्त भेटमा स्विस सरकारले नेपालको शिक्षा क्षेत्र, विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षामा गर्दै आएको सहयोगलाई आगामी दिनमा थप फराकिलो र प्रभावकारी बनाउने विषयमा गहन छलफल भयो। सो अवसरमा शिक्षामन्त्री पोखरेलले सिटिइभिटी सम्बन्धी ऐनको मस्यौदा छिट्टै संसद्मा पेस गर्ने तयारी भइरहेको जानकारी गराउँदै नेपाल सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको बताए । साथै, काठमाडौँ महानगरमा सफल भएको ‘बुकफ्री फ्राइडे’ कार्यक्रमलाई देशभरिको पाठ्यक्रममा समेटेर लैजाने सरकारको योजना रहेको उल्लेख गर्दै उनले  प्रविधिको विकाससँगै आगामी दिनमा डिजिटाइजेसन र समावेशी शिक्षामा पनि स्विस सरकारसँग सहकार्यको प्रस्ताव गरे ।

नेपालको प्राविधिक शिक्षा र व्यावसायिक तालिम परिषद्मार्फत स्विस सरकारको सहयोगमा हाल तीनवटा ठूला परियोजनाहरू सञ्चालनमा रहेका छन्। भेटका क्रममा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विटजरल्याण्डको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए । उनले हाल फरक-फरक रूपमा सञ्चालन भइरहेका ती तीनवटै प्राविधिक परियोजनाहरूलाई अब एउटै एकीकृत योजना बनाएर थप प्रभावकारी र नतिजामुखी ढंगले अगाडि बढाउने नयाँ रणनीति शिक्षामन्त्रीसमक्ष प्रस्तुत गरेका छन । वार्षिक अर्बौँको सहायता परिचालन गर्ने स्विटजरल्याण्ड नेपालको भरपर्दो विकास साझेदार रहेकाले यो नयाँ समझदारीले नेपालको रोजगारमुखी र प्राविधिक शिक्षामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

1

Scroll to Top